राजनीति


बालेनलाई ओलीको कटाक्ष- प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति गरेनौँ

बालेनलाई ओलीको कटाक्ष- प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति गरेनौँ

झापा-५ मा मंगलबार गरिएको बहसमा सहभागी उम्मेदवार र बालेन्द्र शाहका लागि खाली छोडिएको कुर्सी।


नेपालखबर
फागुन ६, २०८२ बुधबार १२:२६, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई कटाक्ष गर्दै प्रश्न छलेर आफूलाई राम्रो देखाउन राजनीति नगरेको बताएका छन्। 

मंगलबार झापा-५ का उम्मेदवारसँग सार्वजनिक छलफल कार्यक्रम रहेको थियो। त्यसमा झापा–५ का सबै उम्मेदवार सहभागी भए पनि रास्वपा उम्मेदवार शाह सहभागी भएका थिएनन्। 

त्यसलाई लिएर बुधबार ओलीले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्। उनले अहिलेसम्म आफूमाथि उठेका प्रश्नको जवाफ दिएको बताएका छन्। 

‘हामीले आफूमाथि उठेका प्रश्नको उत्तर दिँदै आएका छौँ। त्यसैले हामीमाथि आलोचना र विरोधहरू पनि सुनिन्छन्,’ ओलीले भनेका छन्, ‘कतिपय प्रश्नमा आत्मालोचना गर्ने र सुधार्ने पनि गरेका छौँ। प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेनौँ।’

चुनावी प्रतिस्पर्धामा उभिएका उम्मेदवारले एकै ठाउँमा बसेर जनताको प्रश्नको जवाफ दिनु राम्रो भएको उनको भनाइ छ। नागरिकभन्दा टाढा बसेर अनुहार छुपाउने काम नगरेको उनको जिकिर छ। 

‘उम्मेदवारहरूले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता हो। चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व हो,’ ओलीले भनेका छन्, ‘उम्मेदवारहरू नागरिकभन्दा टाढा रहने, वास्तविक अनुहार छुपाउने र सुटिङ गरेर तयार गरिएका सामग्री मतदातासम्म पुर्‍याएर चुनाव अवधिभर झुक्याउने परिपाटीबाट नागरिक ठगिनु हुँदैन।’

उनले सार्वजनिक बहस आयोजना गर्नेलाई पनि धन्यवाद दिएका छन्। यस्ता बहसमा सहभागी हुने पनि जनाएका छन्। ओलीले भनेका छन्, ‘म नागरिकको साथमा रहनेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad