राजनीति


रास्वपाको आन्तरिक विश्लेषण : प्रत्यक्षमा ५० सिट, समानुपातिकमा ५० लाख

‘कांग्रेस तेस्रो हुन्छ भन्ने थियो अब दोस्रोमा आइसक्यो’
रास्वपाको आन्तरिक विश्लेषण : प्रत्यक्षमा ५० सिट, समानुपातिकमा ५० लाख

सागर न्यौपाने
फागुन ८, २०८२ शुक्रबार २२:५२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर आफ्नो पक्षमा चुनावी ‘वेभ’ आएको भन्दै यो माहोल फागुन २१ सम्म कायम राखेर प्रत्यक्ष र समानुपातिकमा राम्रो नतिजा निकाल्ने आन्तरिक विश्लेषणसहित रणनीति तय गरेको छ।

रास्वपाको इलेक्सन रिसर्च टिमले जिल्ला र प्रदेशहरूबाट आएका तथ्याङ्कको समेत विश्लेषण गर्दै प्रत्यक्षतर्फ ५० बढी सिट र समानुपातिकतर्फ ५० लाख मत ल्याउने आन्तरिक विश्लेषण गरेको हो।

पछिल्लो समय सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले धनगढीबाट देशव्यापी चुनावी अभियान सुरु गरेपछि आफ्नो पक्षमा माहोल झन् बढेको रास्वपाका नेताहरूको विश्लेषण छ। 

तर सुदुरपश्चिमको धनगढी, कर्णालीको सुर्खेत र लुम्बिनीको दाङमा चुनावी सभा गरेपछि रास्वपाले यो अभियान नै स्थगित गरेको छ। धनगढी र सुर्खेतमा बालेन र रविले सम्बोधन गरेका थिए भने शुक्रबार दाङको सभामा रवि मात्रै बोले। बालेन अस्वस्थ भएर काठमाडौँ फर्केको खबरलगत्तै रास्वपाले भैरहवा र पोखराको सभा स्थगित भएको सूचना जारी गर्यो।

जसको मुख्य कारण झापा ५ मा निरन्तर मतदाता भेटिरहेका एमालेका उम्मेदवार केपी शर्मा ओलीको माहोल बढ्दै गएको र रास्वपाका स्थानीय कार्यकर्ता आफ्नो उम्मेदवार बालनेप्रति असन्तुष्ट बन्नु मानिएको छ। रास्वपाका नेताहरूका अनुसार अब बालेन पनि आफ्नो निर्वाचन क्षेत्रमै बढी केन्द्रित हुनेछन्।

बीचैमा ठूला सभा स्थगित गरेर रास्वपाले घरदैलोमा केन्द्रित हुने गरी चुनावी अभियान परिवर्तन गरेको हो। 

रविको टिम र बालेनको रिसर्च टिमले जिल्ला र प्रदेशहरूबाट आएका रिपोर्ट, मतादाताको मनोविज्ञान, विपक्षी दलहरूको प्रचारलगायतको विश्लेषण गरिरहेको छ। खासगरी मधेस प्रदेशबाट रास्वपा निकै उत्साहित छ।

‘मधेसमा आजसम्मको वेभ कायम रह्यो भने आश्चर्यजनक रुपमा हाम्रो मत बढ्छ,’ रास्वपाका एक नेताले भने, ‘तर, कर्णालीमा रास्वपा निकै कमजोर देखिएको छ।’

त्यही भएर सुर्खेतमा सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई लगेर बिहीबार सभा गरिएको ती नेताले बताए। हुम्लाको माथिल्लो भेगको उम्मेदवार भएकोले टासी ल्हान्जोमले जित्न सक्ने रास्वपाको आकलन छ।

हुम्लाको माथिल्लो सीमावर्ती गाउँको अधिकांश मत आफूले पाउने र तल्लो तहको मत तीन दलबीच बाँडिदा आफूले जित्ने रिपोर्ट टासीले पठाएको नेताहरू बताउँछन्। 

‘हिमाली क्षेत्र र पहाडका कतिपय क्षेत्रमा शहरी क्षेत्रमा जस्तो रास्वपाको माहोल छैन,’ बालेननिकट रिसर्च टिमका एक सदस्यले भने।

हिमाली क्षेत्र र पहाडका कतिपय क्षेत्रमा कमजोर देखिँदा रास्वपाले यो चुनावमा एकल बहुमतको अपेक्षा गरे पनि अहिलेसम्म त्यो सम्भव नदेखिएको ती सदस्यको भनाइ छ। 

नेपाली कांग्रेसका सभापति गगन थापाको रणनीतिक चालले आफ्नो पार्टीको बढ्दो प्रभावलाई घटाउन सक्ने रास्वपा नेताहरूको भनाइ छ। बिहीबार र शुक्रबार रास्वपाबाट राजीनामा दिएर केही नेता कांग्रेस प्रवेश गरेका छन्।

‘गगन थापाको सक्रियताले रास्वपाकै मान्छे उता जान थालेका छन्,’ ती सदस्यले भने, ‘कांग्रेसमा पनि युवा नेतृत्व आएकाले कांग्रेस र हामीलाई मत बाँडिने भयो। कांग्रेस तेस्रो हुन्छ भन्ने हाम्रो बुझाइ थियो तर अब दोस्रोमा आइसक्यो।’

देशभर राम्रो संगठन भएकाले एमालेलाई रास्वपाले पहिलो प्रतिस्पर्धी दल मानेको थियो। तर, त्यो समीकरण फेरिएको ती सदस्यको भनाइ छ।

‘प्रत्यक्षमा त एमालेको भन्दा नेपाली कम्युनिस्ट पार्टीको सिट बढी आउँछ भन्ने हाम्रो रिपोर्टले देखाएको छ,’ उनले थपे।

रास्वपाको त्यो आन्तरिक रिपोर्ट अनुसार पछिल्ला १५ दिनमा दुईथरी माहोल देखिएको सो पार्टीका नेताहरू बताउँछन्।

‘अहिलेको ट्रेन्ड परिवर्तनको पक्षमा छ, मत परिवर्तन गर्ने धेरै छन्, यसलाई कसरी २१ गतेसम्म लैजाने भन्ने चुनौती छ,’ रास्वपाका एक नेता भन्छन्, ‘रास्वपाले अहिले देशभर देखिएको माहोललाई जोगाउन कठिन हुनसक्छ। हाम्रो माहोल मात्र हो। कतिपय ठाउँमा संगठन बनेकै छैन। मत संरक्षण गर्न अरु पार्टी भन्दा हामी कमजोर छौँ।’

सात प्रदेशको आकलन
मनाङ र म्याग्दीबाहेक देशभरका १६३ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको रास्वापाले प्रदेशगत रुपमा चुनावी विश्लेषण गरेको छ। पछिल्लो रिपोर्ट अनुसार कर्णालीमा रास्वपाले एक दुई सिट मात्र जित्न सक्ने आकलन गरेको छ।

कर्णालीमा १२ निर्वाचन क्षेत्र रहेकोमा रास्वपाले जम्मा १ वा २ जित्न सकिनेमा राखेको छ।

सुदुरपशिममा १६ निर्वाचन क्षेत्र रहेको छ। जसमा रास्वपाले जम्मा ४ वटा ढुक्कले जित्नेमा राखेको छ।

कञ्चनपुर र कैलालीको एक–एक क्षेत्र जितिने रास्वपाको आन्तरिक आकलन छ। यस्तै अछाममा एउटा र बैतडीमा एउटा जितिने रिपोर्ट तल्लो कमिटीले पठाएका छन्। 

लुम्बिनीका २६ क्षेत्रमध्य रास्वपाले ११ क्षेत्र निश्चित जित्नेमा राखेको छ।

‘तराई र पहाडी क्षेत्र पर्ने लुम्बिनीमा बर्दिया १, नवलपरासी पश्चिमका २ वटै क्षेत्र, बाँकेको १, ३, दाङको ३ वटै क्षेत्र, रुपन्देहीको २, ३ र ५ जितिने सूचीमा छ,’ रिसर्च टिमका ती सदस्यले भने। 

गुल्मी, पाल्पा, कपिलवस्तु र प्युठानलाई जित–हार भन्न नसकिने सूचीमा राखिएको नेताहरू बताउँछन्। रोल्पा र रुकुम पूर्व जित्न नसकिने सूचीमा छ।

१४ जिल्ला र २८ क्षेत्र रहेको कोसीमा रास्वपाले ७ क्षेत्रमा जितिने विश्लेषण गरेको छ।

५ निवाचन क्षेत्र रहेको झापामा ३ नम्बर बाहेक सबै जितिने आकलन रास्वपाको छ। झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेले सहयोग गर्नसक्ने रास्वपाको बुझाइ छ।

झापा ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न रास्वपाका बालेन शाह गएका छन्। बालेनले सजिलै सो क्षेत्र जित्ने रास्वपाको आन्तरिक रिपोर्टमा छ।

मोरङमा एउटा क्षेत्र जित्ने उसको आन्तरिक आकलन छ। सुनसरी क्षेत्र नम्बर २ जित्ने सूचीमा राखेको छ। रास्वपाको आन्तरिक विश्लेषण अनुसार सुनसरी १ मा उम्मेदवार बनेका हर्क साम्पाङ चुनाव जित्दैनन्, बरु त्यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले जित्न सक्छन्। 

उदयपुर क्षेत्र नम्बर १ पनि रास्वपाले जित्ने सूचीमा राखेको छ। अन्य पहाडी जिल्लामा नतिजा भन्न नसकिनेमा राखेको छ।

मधेसका ८ जिल्लाका ३२ प्रत्यक्ष क्षेत्रमध्ये रास्वपाले ६ जित्ने निश्चित सूचीमा राखेको छ।

रास्वपाले माघ ५ गते रवि र बालेनलाई लगेर जनकपुरमा भव्य कार्यक्रम गरेको थियो। त्यही कार्यक्रमदेखि रास्वपाको पक्षमा जनलहर आएको नेताहरू बताउँछन्। 

त्यसपछि केही दिनअघि बालेनले मधेसकै विभिन्न क्षेत्रमा रोड सो गरेका थिए।  

यस्तै गण्डकीमा १८ क्षेत्र रहेकामा रास्वपाले ८ क्षेत्र जित्ने सूचीमा राखेको छ। रास्वपाले कास्कीका ३ वटै क्षेत्र, तनहुँ १, स्याङ्जा १ र नवलपरासी पूर्वको एउटा क्षेत्र जित्ने सूचीमा राखेको छ। गोरखाका दुवै क्षेत्रलाई अनिश्चित मानेको छ।

मनाङ र म्याग्दीमा रास्वपाको उम्मेदवार छैनन्। मनाङमा उम्मेदवारी नै नदिएको र म्याग्दीमा महावीर पुनलाई रास्वपाले समर्थन गरेको छ।

मुस्ताङ, पर्वत जित्न कठिन सूचीमा छ। बागलुङ पनि जित्ने सूचीमा छैन। 

बागमतीका १३ जिल्लामध्ये उपत्यकाका तीन जिल्ला र बाँकी बाहिरका दस जिल्लालाई रास्वपाले छुट्टाछुट्टै विश्लेषण गरेको छ। बागमतीमा कुल ३३ प्रत्यक्ष क्षेत्र छन्, जसमा रास्वपाले १५ सिट जित्ने सूचीमा राखेको छ।

काठमाडौँका ३, ६, ७, ८ र ९ जित्ने सूचीमा राखेको छ। यस्तै, काठमाडौँकै २ र ५ तीव्र प्रतिस्पर्धाको सूचीमा छ। काठमाडौँ २ मा अघिल्लो पटक रास्वपाकी सोविता गौतमले चुनाव जितेकी थिइन्। तर, यसपटक उनी सो क्षेत्र छोडेर चितवन ३ मा झरेकी छन्। काठमाडौँ २ मा राप्रपाबाट प्रदेश सांसद जितेका सुनिल केसी रास्वपाको उम्मेदवार छन्। उनको पृष्ठभूमि राप्रपा भएकोले यसपटक सो क्षेत्रमा राप्रपाकी कुन्तीदेवी पोखरेलसँग प्रतिस्पर्धा हुँदा एमाले उम्मेदवार जित्न सक्ने रास्वपाको आन्तरिक विश्लेषण छ।

काठमाडौँ १ पनि रास्वपाले जित्न सकिने सूचीमा नराखी भन्न नसकिनेमा राखेको छ। काठमाडौँ १० रास्वपाले जित्ने सूचीमा राखेको छैन।

ललितपुर र भक्तपुरमा रास्वपाले जित्ने सूचीमा कुनै क्षेत्र राखेको छैन। अघिल्लो चुनावमा रास्वपाले ललितपुर ३ सहित उपत्यकामा ५ वटा क्षेत्र जितेको थियो।

बागमतीका बाँकी १० जिल्लामध्ये सिन्धुली २, सिन्धुपाल्चोक १, काभ्रेको एउटा, नुवाकोटका दुईवटै, धादिङका २ वटै र चितवनका ३ वटै क्षेत्र जित्ने सूचीमा राखेको छ। मकवानपुरमा जिते दुई वटै नत्र कुनै नजित्ने रिपोर्ट रहेको नेताहरू बताउँछन्।

रसुवा जित्न नसक्ने सूचीमा छ। रामेछाप र दोलखा पनि अनिश्चित सूचीमा छ। 

रास्वपा रिसर्च टिमका सदस्य रविकिरण अधिकारीले देशभर रास्वपाका उम्मेदवार चर्चाको शिखरमा रहे पनि दैनिक परिस्थिति फेरबदल भइरहेकोले नतिजा यसै भन्न सकिने अवस्था नरहेको बताए।

‘हाम्रो सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह जहाँ पुग्नुभयो, त्यहाँ माहोल राम्रो हुँदै गएको छ,’ उनले भने, ‘त्यसो हुँदा प्रत्यक्षमा ५० देखि ६० सिट जित्ने अहिलेसम्मको आकलन छ। समानुपातिकमा ५० लाख मत पाउने आकलन छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad