राजनीति


एमालेको आरोप- हामी जित्ने भएपछि रास्वपाले चुनाव भाँड्न खोज्यो

एमालेको आरोप- हामी जित्ने भएपछि रास्वपाले चुनाव भाँड्न खोज्यो

एमालेको आम निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाही।


नेपालखबर
फागुन ९, २०८२ शनिबार १६:१, काठमाडौँ

प्रतिनिधि सभाको चुनावलाई प्रभावित गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका विभिन्न स्थानमा हिंसा भड्काउन थालेको नेकपा (एमाले)ले आरोप लगाएको छ। 

शनिबार एमालेको आम निर्वाचन परिचालन समितिले पत्रकार सम्मेलन गरी चुनावबारे गम्भीर चासो जनाएको छ। पत्रकार सम्मेलनमा एमाले आम निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले चुनावी वातावरण बिथोल्न खोजेको आरोप लगाए।

‘कथित नयाँको नाममा भोट फर चेन्जको भाष्य बिक्री हुन छाडेपछि निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्र स्वरुप देशका विभिन्न भागमा हिंसा भड्काउने काम थालनी भएको छ,’ शाहीले भने। 

उनले रौतहटमा समुदाय-समुदायबीच भएको द्वन्द्वलाई उदाहरण दिए। त्यस्तै, दाङमा एमालेको झण्डा जलाउने, बारामा एमाले नेत्री ज्वालाकुमारी साहलाई चुनावी कार्यक्रममा जाँदा अवरोध गर्ने लगायत देशभर भइरहेका घटना उदाहरण भएको जिकिर गरे। ‘चुनाव भयरहीत हुनेमा एमाले अझै विश्वस्त हुन सकिराखेको छैन,’ शाहीले भने।  

चुनाव जित्न नसक्ने देखिएपछि रास्वपाले अशान्ति फैलाउन खोजेको एमालेको आरोप छ। ‘चुनावी परिणाम आफ्नो पक्षमा आउने नदेखिएपछि चुनाव भाँड्नका लागि देशका विभिन्न स्थानमा दलहरूको झण्डा र चुनाव चिह्न जलाउने, अशान्ति फैलाउने कार्यले रास्वपाले चुनाव भाड्न खोजेको पुष्टि हुन गएको छ,’ शाहीले भने। 

यस्तो कार्यमा संलग्न सबैलाई कारबाही गर्न एमालेले माग गरेको छ। ‘चुनाव चिह्नमाथि भएको आक्रमण गर्नेलाई कारबाहीमा ल्याउनुपर्छ,’ शाहीले भने, ‘निर्वाचन आचारसंहिता उल्लंघन भएको छ। आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगले खुट्टा कमाउनु हुँदैन।’

एमालेका प्रमुख नेताको जित सुनिश्चित देखिएपछि चुनावी वातावरण बिथोल्न खोजिएको उनको भनाइ छ। ‘हाम्रा प्रमुख नेता भएको ठाउँमा जित सुनिश्चित छ। झापादेखि कैलालीसम्म जित सुनिश्चित छ,’ शाहीले भने, ‘हामी पहिलो पार्टी बन्छौँ।’

एमाले कार्यकर्ता अहिलेसम्म संयमित रहेको उनको दाबी छ। आफ्ना कार्यकर्ताले कतै पनि अन्य दलका झण्डा, चुनाव चिह्न जलाउने कार्य नगरेको उनको भनाइ छ। 

चुनावी वातावरण बनाउने सरकार चुकिरहेको एमालेको आरोप छ। ‘चुनाव भयरहीत, स्वच्छ र निश्पक्ष हुनुपर्छ, त्यसका लागि वातावरण बनाउन जिम्मेवारी सरकारको हो,’ पत्रकार सम्मेलनमा शाहीले भने, ‘भयरहीत, स्वच्छ र निश्पक्ष वातावरण बनाउन सरकार चुकिरहेको छ। सम्वेदनशिल भइरहेको छैन। सरकार जिम्मेवार बन्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad