राजनीति


२८ हजार मतले हार्दा शंकर पोखरेललाई दाङमा धक्का, राजनीतिक भविष्यप्रति बढ्यो शंका

२८ हजार मतले हार्दा शंकर पोखरेललाई दाङमा धक्का, राजनीतिक भविष्यप्रति बढ्यो शंका

एमाले नेता शंकर पोखरेल


नेपालखबर
फागुन २३, २०८२ शनिबार १६:१२, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट भारी मतान्तरले पराजित भएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले २८ हजार २६४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा खसेको कुल ८२ हजार ६०६ मतमध्ये विजयी भएका विपिन आचार्यले ४३ हजार ८२२ मत प्राप्त गरे। महासचिव पोखरेलले भने १५ हजार ५५८ मतम मात्र पाए। २०७९ को निर्वाचनमा यस क्षेत्रमा माओवादीकी रेखा शर्मासँग १९३ मतको झिनो अन्तरले पराजित भएका पोखरेलका लागि यसपटकको मतान्तर निकै ठूलो र बिझाउने खालको छ।

यो पराजयले पोखरेलको संसदीय राजनीतिमा मात्र क्षति पुगेको छैन। एमालेभित्रको पार्टी राजनीतिमा पनि असर पार्नेछ।

पोखरेलमाथि उठ्ने छन् कठिन प्रश्न

१. रणनीतिकारको छविमा ह्रास: एमालेलाई 'एकल बहुमत'दिलाउन मुख्य खाका कोर्ने महासचिवले आफ्नै क्षेत्र जोगाउन नसक्दा उनले तय गरेका चुनावी रणनीति र राजनीतिक आँकलनमाथि पार्टीभित्रै गम्भीर प्रश्न उठेको छ।

२. अध्यक्ष ओलीमाथिको दबाब: पोखरेललाई विशेष संरक्षण दिँदै आएका अध्यक्ष ओलीमाथि पनि अब आफ्ना निकटस्थलाई मात्र च्यापेको र नयाँ शक्तिको लहर रोक्न नसकेको आरोप लाग्नेछ, जसले पार्टीभित्रको विपक्षी गुट (जस्तै १० बुँदे पक्षधर) लाई नेतृत्वविरुद्ध संगठित हुन बल पुग्नेछ।

३. संसदीय मोर्चाबाट बिमुख: पार्टीको मुख्य कमान्ड सम्हाल्ने नेता संसदमा अनुपस्थित हुँदा नीति निर्माण र राष्ट्रिय बहसहरूमा उनको भूमिका शून्य हुनेछ। यसले गर्दा उनी केवल ‘पार्टीको आन्तरिक व्यवस्थापन’ मा खुम्चिनुपर्नेछ, जसले उनको राष्ट्रिय प्रभाव र ‘मास अपिल’ लाई क्रमशः कम गर्नेछ।

४. उत्तराधिकारी दाबेदारीमा धक्का: पोखरेल पार्टी अध्यक्ष ओलीले अध्यक्ष बनाउन चाहेका नेता हुन्। एमालेको एउटा पंक्तिले भावी अध्यक्षका रूपमा हेरेका उनले लगातार दोस्रो पटक संसदीय निर्वाचन हार्दा, पार्टीको सर्वोच्च नेतृत्वका लागि उनको ‘नैतिक र राजनीतिक’ दाबेदारी कमजोर भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad