बझाङमा नेकपा एमालेका ऐन बहादुर महर १८ हजार ५४३ मतसहित विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत मात्रै प्राप्त गरे।
यस्तै, नेकपाका मिनबहादुर कुँवरले ९ हजार ७५७ र रास्वपाका शैलस कुमार सिंहले ९ हजार २६३ मत प्राप्त गरेका छन्।
एमालेका महरले ३ वर्षअघि ०७९ को चुनावमा वामलोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समााजवादीका भानुभक्त जोशीसँग व्यहोरेको झिनो मतान्तरको हारको बदला लिँदै दोस्रो प्रयासमा संसद यात्रा तय गरेका छन्।
उनले अन्तिम समयमा एमालेबाट टिकट पाएका थिए। एमाले केन्द्रीय सदस्य अफिलाल ओखेडालाई सुरुमा बझाङमा उम्मेदवार बनाइएको थियो। पछि ओखेडाको टिकट खोसेर बझाङमा महरलाई एमालेले टिकट दिएको थियो।
महर कांग्रेसका स्नेहीलाई २ हजार २३९ मतान्तरले उछिन्दै निर्वाचित भएका हुन। ०७४ मा नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका स्नेही पहिलो पटक प्रत्यक्ष चुनाव लडेका थिए। त्यसमा सफल रहन सकेनन्।
यसका साथै ०५६ यता जित निकाल्न नसकेको कांग्रेस बझाङमा यसपटक पनि निराश बन्न पुगेको छ। एमालेले ०७४ पछि पहिलो पटक बझाङमा जित निकाल्न सफल भएको हो।
नेपाली कांग्रेस र नेकपा एमाले दुवै पार्टी पुरानो विरासत फर्काउने रणनीतिका साथ चुनावी मैदानमा उत्रिएका थिए। जसमा एमाले विरासत फर्काउन सफल रह्यो। महरले बझाङमा एमालेको विरासत मात्रै फर्काएनन् कि सुदूरपश्चिममा एमालेलाई पहिलो जित पनि दिलाएका छन्।
बहुदलपछिको ०४८ को पहिलो चुनावमा बझाङका दुवै क्षेत्रमा नेपाली कांग्रेसले जितेको थियो।
बझाङ १ मा कांग्रेसका अर्जुनजंग बहादुर सिंह र बझाङ २ मा कांग्रेसकै लोकराज जोशीले चुनाव जितेका थिए।
तर ०५१ को चुनावमा बझाङमा एमालेले कब्जा जमायो। बझाङ १ मा एमालेका भानुभक्त जोशी र बझाङ २ मा स्वतन्त्र नरेश बहादुर सिंहले चुनाव जितेका थिए।
फेरि ०५६ मा कांग्रेसले दुवै क्षेत्र जितेको थियो। बझाङ १ मा कांग्रेसका अर्जुनजंग बहादुर सिंह र बझाङ २ मा सुरेश मल्लले चुनाव जिते।
०६४ को पहिलो संविधानसभा चुनावमा माओवादी र एमालेले एक/एक क्षेत्र जितेको थियो। बझाङ १ मा एमालेका भानुभक्त जोशी र बझाङ २ मा माओवादीका शंकरबहादुर खड्का विजयी भएका थिए।
फेरि ०७० मा बझाङ १ मा एमालेका मनप्रसाद खत्री र बझाङ २ मा एमालेकै लालबहादुर रावल निर्वाचित भए।
०७४ मा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका भैरवबहादुर सिंहले चुनाव जिते भने ०७९ को चुनावमा वामलोकतान्त्रिकका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भए।
को हुन महर ?
महरले वि.सं. २०५५ देखि उनले एमालेमा विद्यार्थी राजनीति थालेका थिए। उनले विद्यार्थीको हक–अधिकार, सुशासन र भ्रष्टाचारविरुद्धका आन्दोलनमा अग्रपंक्तिमा रहेर आन्दोलन हाँके।
विद्यार्थी आन्दोलनमा सक्रिय महर अनेरास्ववियुको केन्द्रीय सदस्य, सचिवालय सदस्य, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षसम्म भए।
एमाले र माओवादी केन्द्रको एकीकरणपछि नेकपा बन्दा वि.सं. २०७६ जेठ २ गते उनी भ्रातृ संगठन अनेरास्ववियूको अध्यक्ष बनेका थिए। त्यसपछि उनी विद्यार्थी राजनीति छोडेर एमालेको मूल राजनीतिमा प्रवेश गरे।
एमालेको १० औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेका थिए। एमाले बझाङको सहइन्चार्जको जिम्मेवारी सम्हालिसकेका उनी एमालेको केन्द्रीय सदस्य र बझाङ इन्चार्ज छन्।
जनताको विश्वासलाई सशक्त ढंगले प्रतिनिधित्व गर्दै विकास र समृद्धिका लागि योगदान गर्ने महर बताउँछन्।
Shares

प्रतिक्रिया