नवलरासी पूर्व–२ बाट प्रतिनिधिसभा निर्वाचनमा २६ वर्षीय जेनजी युवा मनिष खनाल भारी मतका साथ विजयी भएका छन्। सो क्षेत्रमा २०७४ देखि नेकपा एमाले र नेपाली कांग्रेसबीच आलोपालो चलिरहेको थियो। सो क्रमलाई खनालले तोडिदिएका छन्।
चुनाव जितेपछि खनालले जेनजी विद्रोहको मागलाई स्थापित गर्ने वाचा गरे।
‘मितिबाट विधि र विधिबाट समृद्धि भन्ने मेरो बटमलाइनलाई नै लिएर अगाडि बढ्ने तयारी गरिराखेको छु। म जेनजी विद्रोहको मागलाई स्थापित गर्ने गरेर पाँच वर्ष काम गर्ने प्रतिबद्धता जनाउँछु,’ खनालले भने।
खनालले ४१ हजार ३४७ मत ल्याए। एमालेका तिलक महतले १५ हजार ७५५ मत पाउँदा कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत ल्याएका छन्। खनालले २५ हजार ५९२ मतको फराकिलो अन्तर कायम गरेका छन्।
२०७४ को निर्वाचनमा यही क्षेत्रबाट नेकपा एमालेका तिलक महत चुनिएका थिए भने २०७९ मा कांग्रेसका विष्णुकुमार कार्की निर्वाचित भएका थिए।
अधिवक्ता समेत रहेका खनाल भदौ २३ मा भएको जेनजी आन्दोलनमा पनि सक्रिय रूपमा सहभागी भएका थिए। उनी नेपाल जेनजी फ्रन्ट (रक्षा बम समूह) का संवाद समिति संयोजक हुन्। अधिवक्ता भएकै कारण मनिषले सरकार र जेनजीबीच भएको सम्झौताको मसौदा तयार पार्नमा मुख्य भूमिका खेलेका थिए।
उक्त सम्झौता गर्दैगर्दा त्यसको अपनत्व अन्य राजनीतिक दलहरूले पनि लिनुपर्छ भन्ने उनको राय थियो। त्यही भएर दलहरूसँग पनि सम्झौता गरिनुपर्ने प्रस्ताव उनले राखेका थिए। तर त्यसो हुन सकेन। सरकार र जेनजीबीच मात्र सम्झौता भयो।
उक्त सम्झौता कागजमा मात्र सीमित हुन नदिन पनि जेनजी नै सदनमा पुग्नुपर्ने उनको तर्क थियो। सोही अनुसार अब खनाल सदनमा पुग्ने भएका छन्।
कम उमेर र राजनीतिमा नयाँ भए तापनि पूर्वसांसद असीम साहको स्वकीय सचिवको रूपमा काम गरेको हुनाले आफूलाई केही हदसम्म संसदीय अनुभव रहेको उनको भनाइ छ।
नवलपुर मध्यविन्दु नगरपालिका ६ का खनाल भदौ २३ को जेनजी आन्दोलनपछि चर्चामा आएका थिए। उनी सरकारसँगको विभिन्न चरणमा भएका छलफलमा समेत संलग्न भए।
सानै उमेरदेखि राजनीतिक विषयमा चासो राख्ने खनाल २० वर्षको हुँदा विवेकशील नेपाली दलको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
गत दुई वर्षदेखि वकालत पनि गर्दै आइरहेका थिए। कानुन र समाजलाई राम्रोसँग बुझ्ने युवा सदनमा पुग्दा देशको हालत अहिलेको जस्तो नहुने उनको भनाइ छ।
Shares

प्रतिक्रिया