राजनीति


जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु: ओली

जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु: ओली

नेपालखबर
फागुन २८, २०८२ बिहिबार १०:३९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको बताएका छन्। 

बिहीबार सामाजिक सञ्जालमा उनले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका हुन्।

‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन,’ झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग पराजित ओलीले भनेका छन् ‘लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’

उनले अहिलेको कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर एमालेको पक्षमा उभिने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति धन्यवाद व्यक्त गरेका छन्। 

‘यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो,’ ओलीले भनेका छन्। 

उनले अगाडि भनेका छन्, ‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।’

 

निर्वाचनअघि ओलीले यसपटकको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका थिए।  तर, उनी आफैँ झापा ५ मा बालेनसँग फराकिलो मतान्तरले पराजित बनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad