राजनीति


पाकिस्तानका प्रधानमन्त्रीलाई रवि–बालेनको जवाफ: हार्दिक आभार, मिलेर काम गर्न तयार

पाकिस्तानका प्रधानमन्त्रीलाई रवि–बालेनको जवाफ: हार्दिक आभार, मिलेर काम गर्न तयार

नेपालखबर
फागुन २८, २०८२ बिहिबार १०:४४, काठमाडौँ

जितका लागि बधाई दिएकामा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आभार प्रकट गरेका छन्।

पाकिस्तानका प्रधानमन्त्री सरिफले यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा सानदार जित हासिल गरेको भन्दै सामाजिक सञ्जालमार्फत व्यक्त गरेको बधाई सन्देशमा रवि र बालेन दुवैले कृतज्ञता प्रकट गरेका हुन्। 

‘नेपालमा २०२६ को चुनावमा सानदार जितका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र बालेन्द्र शाहलाई मेरो हार्दिक बधाई छ’, पाकिस्तानका प्रधानमन्त्री सरिफले लेखेका छन्, ‘यो बलियो जनादेशले नयाँ र गतिशील नेतृत्वप्रति नेपाली जनताको विश्वासलाई प्रतिबिम्बित गर्छ। पाकिस्तान हाम्रो ऐतिहासिक मित्रता र सहयोगलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग निकट भएर काम गर्न तत्पर छ।’

यसप्रति आभार प्रकट गर्दै रास्वपा सभापति लामिछानेले आफूहरू पनि पाकिस्तान सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको उल्लेख गरेका छन्। 

‘सम्माननीय प्रधानमन्त्री सहबाज सरिफज्यू! शुभकामनाका लागि यहाँप्रति आभारी छु’, रविले जवाफमा लेखेका छन्, ‘नेपाल र पाकिस्तानबिच मित्रताको लामो इतिहास छ। म तपाईंको सरकारसँग मिलेर हाम्रो आपसी सहयोग र ऐतिहासिक सम्बन्ध अझ बलियो पार्नका लागि काम गर्न प्रतीक्षामा छु।’

यस्तै बालेनले लेखेका छन्, ‘सम्माननीय सहबाज सरिफज्यू, यहाँको अनुग्रहपूर्ण शुभकामनाका लागि म हार्दिक कृतज्ञता व्यक्त गर्दछु। पाकिस्तान सदैव एक अत्यन्त सुन्दर राष्ट्र र एक निष्ठावान् मित्रका रूपमा रहेको छ।’

प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये प्रत्यक्षतर्फ १२५ स्थानमा विजय हासिल गरेको रास्वपाले समानुपातिकसमेत गरेर दुईतिहाइनजिक सिट जितेको छ।   

चुनावअघि नै वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको रास्वपाले उनकै नेतृत्वमा सरकार गठन गर्ने करिब निश्चित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad