राजनीति


कांग्रेसबाट क्लस्टर अनुसार बन्ने यी हुन् सम्भावित २० समानुपातिक सांसद

कांग्रेसबाट क्लस्टर अनुसार बन्ने यी हुन् सम्भावित २० समानुपातिक सांसद

नेपालखबर
फागुन २९, २०८२ शुक्रबार १५:५७, काठमाडौँ

नेपाली कांग्रेसमा समानुपातिकतर्फका २० जना सांसद छनोटको गृहकार्य भइरहेको छ। 

निर्वाचन आयोगले बिहीबार समानुपातिकतर्फ ३ प्रतिशत (थ्रेसहोल्ड) कटाएका दलले पाउने सांसदको सिट संख्या तोकेपछि कांग्रेसले सांसद छनोट गर्न लागेको हो। कांग्रेसका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार २० जनामा निर्वाचन आयोगले क्लस्टर छुट्याएर पाएको छ। कांग्रेसले समानुपातिकबाट पाएको २० सिटमा बन्द सूचीबाट १५ जना महिला पठाउनुपर्नेछ।

आयोगले कांग्रेसलाई खस-आर्य र आदिवासी जनजातिबाट ६-६ जना पठाउने भनेको छ भने मधेसी र दलितबाट ३-३ जना समेट्न भनेको छ। थारू र मुस्लिममा एक-एक जना उम्मेदवारको नाम बन्दसूचीबाट छान्न आयोगले कांग्रेसलाई पठाएको पत्रमा उल्लेख छ। जसमा एक जना पीछडिएको क्षेत्रमा समेट्नुपर्नेछ। 

दुलालका अनुसार कांग्रेसको बन्दसूचीमा पीछडिएको क्षेत्रका दुई जना महिला र दुई जना पुरुषको नाम छ। उनीहरू ४ जनामध्ये एक जनाको नाम छानिने छ।

विद्यादेवी तिमिल्सिना र हजारी नेपाली वादी महिलातर्फ छन् भने पुरुषतर्फ मुगुका भीमबहादुर तिरुवा र हुम्लाका ताराबहादुर लामा उम्मेदवार छन्।

खस आर्य महिलामा सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया र गंगा शाही सांसद बन्ने सम्भावना बलियो छ।

अख आर्य पुरुषतर्फ एक नम्बरमा रहेका अर्जुननरसिंह केसी सांसद हुने-नहुने अन्य क्लस्टरबाट आउने महिलाको संख्यामा भर पर्नेछ।

आदिवासी जनजातिबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बेको सम्भावना बलियो छ भने मधेसी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र चन्द्रमोहन यादव आउने सक्नेछन्। 

दलितबाट हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपाली निर्वाचित हुने सम्भावना छ। थारूबाट निर्वाचित हुनेमा एक जना प्रमिलाकुमारी गच्छदार र मुस्लिमबाट निर्वाचित हुनेमा एक जना शाहजान खातुन छन्।  

बन्दसूचीमा रहेका नामबाट क्लस्टर मिलाएर भोलिसम्म नाम पठाउने गरी पार्टीमा छलफल भइरहेको महामन्त्री गुरुराज घिमिरेले बताए। अहिले समानुपातिकतर्फ आयोगमा बुझाउने नामबारे गृहकार्यमा केन्द्रित रहेको उनको भनाइ छ। 

आयोगले बिहीबार ६ दललाई प्राप्त समानुपातिक सिटमा निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बन्दसूचीबाट छान्न तीन दिन समय दिएर पत्राचार गरिसकेको छ। आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार दलहरूले पठाएको उम्मेदवार मिले-नमिलेको हेरेर निर्वाचित गरी आयोगले दुई दिनभित्र प्रमाणपत्र दिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad