राजनीति


एमाले ‘बचाउन’ सुरेन्द्र पाण्डेका यस्ता छन् तीन प्रस्ताव

एमाले ‘बचाउन’ सुरेन्द्र पाण्डेका यस्ता छन् तीन प्रस्ताव

नेपालखबर
चैत ७, २०८२ शनिबार १६:३, काठमाडौँ

नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले आफ्नो पार्टी ‘बचाउन’का लागि तीन वटा प्रस्ताव अघि सारेका छन्। 

प्रतिनिधि सभाको निर्वाचनमा एमाले नराम्ररी पराजित भएपछि नेताहरूले अनेक टिकाटिप्पणी गरिरहेका छन्। पाण्डेले भने अझै एमालेलाई शक्तिशाली भएर ल्याउन सकिने बताएका छन्। 

नेता पाण्डेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै लेखेका छन्, ‘के अब एमाले पहिलेकै लयमा फर्किन्छ? मेरो विश्वास छ, हामी फर्किने मात्र होइन, अझ आधुनिक र शक्तिशाली भएर उदाउन सक्छौँ।’

उनले त्यसका लागि इतिहास हेरेर नभइ भविष्य हेरेर काम गर्नुपर्ने औँल्याएका छन्। ‘यसका लागि हामीले इतिहासको ब्याजमा होइन, भविष्यको लगानीमा ध्यान दिनुपर्छ,’ पाण्डेले भनेका छन्, ‘अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने विज्ञता र प्रविधि सहितको एउटा गतिशील संस्था बन्नुपर्छ।’

यसका लागि उनले तीन वटा काम तत्कालै गर्नुपर्ने बताएका छन्। पाण्डेले भनेका छन्, ‘अबको एमाले बचाउन हामीले तीन वटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्छ।’ 

उनले पहिलो काममा ‘विज्ञतामा आधारित राजनीति’ राजनीति गर्नुपर्ने औँल्याएका छन्। ‘अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने प्राविधिक रोडम्याप तयार गर्नुपर्छ,’ पाण्डेले लेखेका छन्। 

त्यस्तै, दोस्रोमा डिजिटल मेरिटोक्रेसीमा ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्न आधुनिक प्रविधि र पारदर्शी इभ्यालुएसन फ्रेमवर्क लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस्,’ उनले भनेका छन्। 

त्यस्तै, तेस्रोमा संरचित पुस्तान्तरण हुनुपर्ने बताएका छन्। पाण्डेले भनेका छन्, ‘नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न को-लिडरसिप र मेन्टरसिपको वैज्ञानिक मोडल सुरु गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad