राजनीति


देउवा-कोइराला पक्षले भन्यो- पक्राउ पूर्वाग्रह प्रेरित, कानुनी र राजनीतिक प्रतिवाद गर्छौँ

देउवा-कोइराला पक्षले भन्यो- पक्राउ पूर्वाग्रह प्रेरित, कानुनी र राजनीतिक प्रतिवाद गर्छौँ

नेपालखबर
चैत १४, २०८२ शनिबार १८:५७, काठमाडौँ

नेपाली कांग्रेसका निर्वतमान समापति शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षका नेताको बैठकले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई पूर्वाग्रह प्रेरित भनेको छ। 

बैठकपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिका रुपमा जारी गरेको विज्ञप्तिमा दुवै जनाको रिहाइको माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई राजनीतिक प्रतिशोध साध्ने उद्देश्यबाट सरकारले पक्राउ गरेको छ।’

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि त्यसै गरी पक्राउ गरिएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘संविधान र प्रचलित कानुन विपरित गरिएको यस कार्यको हामी भत्र्सना गर्दछौँ।’

गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा पक्राउ गरेकोमा यसलाई बदनियतपूर्ण कार्य भनेको छ। यसले गम्भीर संवैधानिक र कानुनी प्रश्न उब्जाएको उल्लेख गरिएको छ। 

‘आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा प्रतिवेदनको पेज नं. ७२१ को सिफारिस बमोजिम अनुसन्धान तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने भनिएकोमा कुनै पनि प्रक्रिया पूरा नगरिकन तत्कालीन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको बर्खिलाप छ, राजनीतिक  रुपमा पूर्वाग्रह प्रेरित छ,’ विज्ञप्तिमा भनिएको छ। 

गत भदौ २३ र २४ गते दुवै दिन भएका घटनाको छानबिन गर्नुपर्नेमा दोस्रो दिनको घटनामा मौन रहनुबाट प्रतिवेदन पक्षपातपूर्ण रहेको बैठकले ठहर गरेको छ। ‘सरकार गठन भए लगत्तै दुरासयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यको संवैधानिक, कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ।’

यससँगै देशभरका आफ्ना नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन पनि अपिल गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘साथै आईपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रुपमा सामना गर्न देश भरिका पार्टीका साथीहरूलाई तयार रहन हार्दिक अपिल गर्दछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad