भक्तपुरको माटो, इँटा र पसिनाको गन्धबीच उनी हुर्किइन्। सानी बालिका छँदा उनलाई आमा भन्थिन्, ‘धेरै पढ्नु पर्दैन, हिसाब-किताब गर्न जाने हुन्छ।’
हुर्केपछि समाजले भन्थ्यो, ‘बिहेपछि श्रीमानको घर जानुपर्छ।’
तर, गंगालक्ष्मी अवालले न आमाको कुरा सुनिन्, न समाजको। बरु उनले यी बन्देजहरुलाई तोडिन्। कोरिएका पुराना रेखाहरुलाई मेटिन्। उच्च शिक्षा हासिल गरिन्। उद्यम र राजनीति गरिन्। अनि, आज उनी मुलुकको कानुन बनाउने ठाउँ संसदमा पुगेकी छन्।
सय रुपैयाँ आम्दानी, उद्यम र पढाइ
भक्तपुरको किसान परिवारमा जन्मेकी गंगाको स्वभाव अलिक ‘जिद्दी’ थियो। आमाले ‘सरकारी जागिर खाने बाहुन-क्षेत्री हो, हामीले त व्यवसाय गर्ने हो’ भन्दा गंगालाई लाग्थ्यो- म किन पढ्न सक्दिनँ?

जति रोक्न खोज्यो, उनी उति धेरै पढ्थिन्। १० वर्षको उमेरमा आमासँगै कपडा बुन्ने अनि घरायसी काममा समेत पोख्त भइसकेकी थिइन्। उनले ६ कक्षामा पढ्दा ज्याखु फाल्चामा बसेर तरकारी बेच्न थालेकी थिइन्। सोही कामबाट आफूले पहिलो पटक सय रुपैयाँ कमाएको अझै उनलाई याद छ।
त्यो सय रुपैयाँ उनको लागि केवल एउटा नोट थिएन, त्यो ‘अरूसँग हात थाप्नु नपरोस्’ भन्ने स्वाबलम्बनको पहिलो पाठ थियो। कक्षा ८ मा पढ्दा हातमा घाउ हुन्जेल टोपी बुनेर ४ रुपैयाँ ज्याला थाप्दा उनले बुझिसकेकी थिइन्- पसिनाको मूल्य नै स्वतन्त्रताको साँचो हो।
गंगालक्ष्मीको उद्यमशीलताको पाटो कुनै चलचित्रको कथा भन्दा कम छैन। एसएलसीपछिको खाली समयमा अवालले बुनाइको काम थप जान्नका लागि आफ्नो बुवाको साथीकी छोरीबाट तालिम लिएकी थिइन्।
त्यसपछि तिब्बती ऊनीबाट लुगाफाटो बुनाइको उद्यम सुरु गरिन्।
पहिले पार्टनरसिपमा काम गरेकी गंगाले केही समयपछि आफू एक्लैले काठमाडौँबाट ऊन ल्याएर आफ्नै टोलका महिलाहरूलाई बुनाइको तालिम दिन थालिन्। कहिले मिनिबस त कहिले ट्रयाक्टरमा सामान ओसार्दै उनले ३०० जना महिलालाई सीप सिकाएर रोजगारी दिइन्।

काठमाडौँको ठमेल र बानेश्वरबाट भाडामा ल्याएको ऊनबाट सामान बनाएर सोही पसलमा बुझाउँथिन्। जसबापत ज्याला पाउँथिन्।
तर, उनको लागि पैसा सँगसँगै आफ्नो पढाइ पनि उत्तिकै महत्वपूर्ण थियो। व्यवसायले धेरै समय लिन थालेपछि स्नातकोत्तरको थेसिस लेखनमा बाधा पर्यो। त्यसैले गंगाले बिना हिच्किचाहट चलिरहेको उद्यम बन्द गरिन्। काम गर्ने महिलाहरू त रिसाए नै उनकी आमा समेत अवालसँग क्रुद्ध भइन्।
तर, उनले आफ्नो लक्ष्य छोडिनन्। समाजशास्त्र र राजनीतिशास्त्रमा त्रिचन्द्रबाट स्नातकोत्तर गरेकी गंगाले आफूले स्नातक तह पढेकै क्याम्पस भक्तपुर बहुमुखी क्याम्पसमा स्नातक तहलाई अध्यापन गराइन्। साथै, उनले दिगो ऊर्जा व्यवस्थापनमा पीएचडी गरेकी छिन्।
२००७ मा गंगाले ‘पर्माकल्चर’ अध्ययन गरिन्। यसले उनको जीवनमा नयाँ मोड ल्याइदियो। भक्तपुरका खेतबारीमा धान रोपेर र तरकारी फलाएर हुर्किएकी अवाललाई पढ्न जाने बेलामा आफ्नो अनुभव सुनाउँदा ‘फेक किसान’ भनियो, किनकि उनीसँग प्रमाणपत्र थिएन।

त्यसपछि उनले कृषिलाई सैद्धान्तिक रूपमा पढिन् र तालिम दिन गाउँ-गाउँ पुगिन्।
नेपालका ६० भन्दा बढी जिल्लामा कृषि सम्बन्धी तालिम दिन पुग्दा उनले कुनै दिन हुम्लाको छाउगोठमा सुत्नु पनि पर्यो। यसक्रममा आफूले पनि धेरै कुरा सिक्ने मौका पाएको उनी बताउँछिन्।
उनले विषादीमुक्त खेतीको अभियान नै चलाएकी थिइन्। त्यही कारण नेदरल्यान्ड, जापान, क्यानडासम्मको शैक्षिक यात्रा गरिन्। उनले भारतको लद्दाख, उत्तराखण्डसम्म पुगेर अर्गानिक फार्मिङ तालिम दिइन्।
कृषि क्षेत्र गरेको योगदानको कदर गर्दै २०८० सालमा उनलाई प्रवल जनसेवाश्री पदक प्रदान गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले पदक प्रदान गरेका थिए।
यससँगै बिहे गरेर श्रीमानको घर जाने परम्परालाई उनले उल्ट्याइन्। पहिले आत्मनिर्भर बनेर विवाअघि नै घर बनाइन्। घर बनेको एक वर्षपछि २०५९ सालमा विवाह गरिन्।
‘त्यही भएर मलाई धेरैले ‘कल्चर ब्रेकर’ पनि भन्छन्,’ उनी गर्विलो आवाज बोल्छिन्, ‘महिलाको आफ्नै घर हुनुपर्छ, जहाँ आफ्नो मर्जीले बाँच्न सकियोस्।’
२०७९ को कोट २०८२ मा
२०४७ सालमा क्याम्पस छिर्नासाथ नेविसंघबाट सुरु भएको राजनीतिक यात्रा अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्यसम्म आइपुगेको छ। सानो दूधे बालकलाई आमाको जिम्मा लगाएर पार्टीको काममा हिँड्ने गंगाको लागि राजनीति मूलतः सेवा हो।
भक्तपुर बहुमुखी क्याम्पसमा राजनीतिशास्त्र पढेकी गंगा त्यहाँ स्ववियु सदस्य बनिन्। २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसलाई साथ दिँदै भोट माग्न जाँदा कांग्रेस आए भनेर भक्तपुरमा दुर्व्यवहार भएको सम्झना उनलाई अझै छ।

पछि नेपाली कांग्रेस, भक्तपुरको १२औँ नगर अधिवेशनबाट नगर कोषाध्यक्ष निर्वाचित भएपछि पार्टी राजनीति सुरु भयो। केही समय उनले महिला संघमा पनि काम गरिन् र जिल्ला उपसभापति निर्वाचित भइन्। त्यसपछि पार्टीमा केन्द्रीय संगठन विभागको सदस्यमा मनोनीत हुँदै सहसचिव समेत भइन्।
१४औँ महाधिवेशनबाट उनी केन्द्रीय कार्यसमितिको सदस्य निर्वाचित भएकी हुन्। कांग्रेसमा उनले तीन दशक समय बिताइसकेकी छन्।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा माननीय बनेपछि लगाउँछु भनेर उनले एउटा कोट सिलाएकी थिइन्। तर, अन्तिम समयमा समानुपातिक सूचीबाट नाम हटाइयो। त्यो कोट धेरै वर्ष दराजमै थन्कियो।
अन्ततः त्यो कोटा गंगाले अहिले पहिरिने अवसर पाइन्। यसपटक उनी नेपाली कांग्रेसको समानुपातिकतर्फ आदिवासी जनजाति क्लस्टरबाट निर्वाचित भएर सदनमा पुगेकी हुन्।
Shares

प्रतिक्रिया