प्रधानमन्त्री बालेन्द्र साहले मधेस प्रदेशबाट निर्वाचित सांसदहरूसँग क्षेत्रगत तथा प्रदेशगत समस्याबारे छलफल गरेका छन्।
बुधबार शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सिँचाइ तथा भौतिक निर्माणका काममा देखिएका समस्या र समाधानका उपायसहित प्रधानमन्त्री शाहले सांसदहरूसँग ब्रिफिङ लिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बताए।
उनकाअनुसार छलफलमा मधेस प्रदेशका सांसदहरूले सेवा प्रवाहमा देखिएका अवरोध, विकास निर्माणमा ढिलाइ लगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
सांसद झाले रेडक्रसको नाममा भइरहेको संगठित भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै रेडक्रस समितिहरू विघटन गरी नयाँ संरचना बनाउनुपर्ने धारणा राखेको बताए। विभिन्न जिल्लामा मुद्दा दर्ता गर्न आनाकानी गर्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई रोक्न आफूहरूले आग्रह गरेको उनको भनाइ छ।
जवाफमा प्रधानमन्त्री शाहले रेडक्रसको नाममा भइरहेको भ्रष्टाचार रोक्न मुख्य सचिव तथा प्रमुख जिल्ला अधिकारीहरूलाई तत्काल निर्देशन दिने प्रतिवद्धता व्यक्त गरेका उनले बताए।
उनले भने, ‘रेडक्रसको नाममा भइराखेको संगठित भ्रष्टाचारलाई नियन्त्रण गर्नको लागि दलीय आधारमा गठन भएका सबै रेडक्रस समितिहरुलाई विघटन गरेर नयाँ कमिटी बनाउनुपर्छ। विभिन्न जिल्लाहरूमा मुद्दा दर्ता गर्न नखोज्ने कार्यहरु तत्काल रोक्नुपर्यो भनेर आफ्नो कुरा राखेँ। मुख्य सचिव र प्रमुख जिल्ला अधिकारीहरूलाई यसबारे आजै निर्देशन दिन्छु भनेर भन्नुभयो।’
Shares

प्रतिक्रिया