राजनीति


अब फेरि कसैले रगत बगाउनु नपरोस्: कांग्रेस सांसद आङदेम्बे

अब फेरि कसैले रगत बगाउनु नपरोस्: कांग्रेस सांसद आङदेम्बे

नेपालखबर
चैत १९, २०८२ बिहिबार १५:३०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बलेले कसैले रगत बगाउन नपर्ने संकल्प गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको पहिलो बैठकमा उनले इमानको पसिना बगाउने संकल्प गर्नुपर्ने बताए। ‘आज ईमानको पसिना बगाउने संकल्प गरौँ, अनि संकल्प गरौँ। अब फेरि कसैले रगत बगाउनु नपरोस्,’ उनले भने।

भिन्नभिन्न आस्था र विचार बोकेर संंसदमा पसुगे पनि एउटै नौकामा रहेको उनको भनाइ छ। ‘हामी एकै थलोमा भएर पनि भिन्नभिन्न आस्था र विचार बोकेर यहाँ छौँ, तर भिन्न रहे पनि एउटै नौकामा छौँ। डुबे सबै डुब्छौं, सँगै डुब्छौं, उठे सबै उठ्छौं, सँगै उठ्छौं। दल भिन्न होला, देश एउटै हो,’ उनले भने। 

फागुन २१ को निर्वाचनमा उत्साहसाथ ठूलो संख्यामा सहभागी भएर समस्त नेपालीले लोकतन्त्रप्रतिको बलियो निष्ठा प्रकट गरेको उनको भनाइ छ।

‘बीपी कोइरालाले नेपालका लागि सबैभन्दा उपयुक्त बाटो भनेर प्रस्तावित गरेको संसदीय लोकतान्त्रिक प्रणाली सबै राजनीतिक दल, सबै पुस्ता र सबै मतदाताबाट एकपटक फेरि अनुमोदित भएको छ,’ उनले भने, ‘कुनै बेला संसदीय प्रणाली तत्कालीन राजाहरूको प्रहारमा पर्‍यो, आज राजतन्त्रका पक्षमा रहेका मित्रहरू पनि यहि संसदमा अट्नु भएको छ। कुनै बेला संसदीय प्रणाली ढालेर बल प्रयोगबाट राज्यसत्ता कब्जा गर्ने ऎलान गरेको माओवादी पार्टीका मित्रहरू पनि आज यहि संसदमा शान्त र भद्र र भलाद्मी भएर बस्नुभएको छ।’

कुनै बेला कांग्रेसले अपनाएको बाटोका विपक्षमा खरो उभिएर, अब दलहरूबाट देश चल्दैन भन्ने रास्वपाहरू पनि नयाँ दल खोलेर सबैभन्दा ठूलो दल बनेर संसदमा उपस्थित भएको उनको भनाइ छ। ‘रुखको साझा छहारी जस्तो यो संसदीय प्रणालीमा आज तपाईं सबैलाई स्वागत गर्न पाउँदा म हर्षित छु। नेपाली कांग्रेस निर्वाचनबाट दोस्रो दल बने पनि, पार्टीले बोकेको सिद्धान्त, बिचार र बाटो अझ सबल र अझ सफल बनेको छ। यो घडी कांग्रेस पार्टीका प्रत्येक सदस्यले बिशेष सन्तोष व्यक्त गर्न मिल्ने घडी हो, म यतिबेला ती प्रत्येक आदरणीय साथीलाई यो रोस्ट्रममा उभिएर स्मरण गर्न चाहन्छु,’ आङदेम्बेले भने। 

नेपाली कांग्रेस ‘निरन्तरतामा नविनता’ भन्ने दृष्टिकोण राख्ने भन्दै हरेक कालखण्डमा परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको उनले बताए। हरेक कालखण्डमा परिवर्तनको नेतृत्व र अरुले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पुर्‍यायो। त्यस हिसाबले काँग्रेस जेन–जि बिद्रोहले उठाएका मुद्दालाई पनि निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध छ । एक जिम्मेवार प्रतिपक्षी दलका रुपमा यो परिवर्तनलाई साथ दिन, सघाउन र खबरदारी गर्न कांग्रेस प्रतिबद्ध छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad