राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाका विषयगत समितिहरूमा सदस्यहरूको मनोनयन तथा हेरफेर गरेका छन्। आइतबार बसेको बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ बमोजिम विभिन्न चारवटा समितिमा सदस्यहरू मनोनयन गरेका हुन्।
अध्यक्ष दाहालले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष एवं सांसद महन्थ ठाकुरलाई विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मनोनयन गरेका छन्। ठाकुरसँगै सो समितिमा रेखाकुमारी झा, सम्झाना देवकोटा, जगत् तिमल्सेना र वासुदेव घिमिरे सदस्य चयन भएका छन्।
त्यसैगरी, विधायन व्यवस्थापन समितिमा पूर्वमन्त्री रामकुमारी झाँक्रीसहित प्रेमप्रसाद दङ्गाल, खम्मबहादुर खाती र गीता देवकोटालाई मनोनयन गरिएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सोमनाथ बोर्तेल, मीना सिंह, सुनिलबहादुर थापा, चन्द्र केसी र रञ्जित कर्ण सदस्य तोकिएका छन्।
सङ्घीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिमा भने लीलाकुमारी भण्डारी, रोशनी मेचे, ललितजङ्ग शाही र धर्मेन्द्र पासवान मनोनयनमा परेका छन्।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेकी थिइन्। राष्ट्रिय सभाको अर्को बैठक सोमबार दिउँसो १२:१५ बजे बस्ने गरी स्थगित भएको छ।
Shares

प्रतिक्रिया