प्राप्त समाचारअनुसार फोनवार्ताका क्रममा पछिल्लो समयमा अमेरिका र भारतले कोभिड १९ संक्रमणका विरुद्धमा गरिरहेको संघर्षका बारेमा कुराकानी भएको छ।
त्यस फोनावार्तामा राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारत अमेरिकाको एक असल मित्र राष्ट्र भएको बताएका थिए।
अमेरिकामा राष्ट्रपति ट्रम्पले त्यहाँ रहेका भारतीय अमेरिकीहरुलाई सन्देश दिने क्रममा सो धारणा राखेको जनाइएको छ।
त्यसक्रममा राष्ट्रपति ट्रम्पले भारतीय मूलका अमेरिकी नागरिक तथा सम्वाददाताहरुसँग भने,‘तपाईँहरुका प्रधानमन्त्री नरेन्द्र मोदी मेरा एक असल मित्र हुनुहुन्छ, हाम्रो आज मात्र पनि कुराकानी भएको थियो। भारत अमेरिकाको एक असल मित्र राष्ट्र हो।’
‘हामी दुवै देश यतिखेर कोभिडको महामारीका विरुद्धमा लडिरहेका छौँ र हामीले यस महामारीविरुद्धमा विजय प्राप्त गर्नका लागि एक आपसमा सद्भाव र शुभकामना पनि साटासाट गरेका छौँ’ ट्रम्पले भने।
अमेरिकाले भारतसँग निकै नजकिको सम्बन्ध कायम गरेर सहमति र सहकार्य गरिरहेको पनि उनले जानकारी दिएको समाचारमा बताइएको छ।
उनले कोभिडका विरुद्धमा पनि अमेरिका र भारतले आपसमा मिलेर सहकार्यका साथ काम गरिरहेको भन्दै यस महामारीका विरुद्धमा भारतीय र अमेरिकी वैज्ञानिकहरु मिलेर खोप पत्ता लगाउने कार्यमा पनि लागिपरेको जानकारी गराएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्प यसैवर्षको फेबु्रअरीमा आफ्ना परिवारसहित भारतको भ्रमणमा गएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गत वर्ष अमेरिकाको भ्रमण गरेका थिए।
कोभिड १९ को महामारी सुरु भएपछि पनि भारतले अमेरिकालाई केही औषधीहरु सहयोग गरेको थियो। त्यस सहयोगले पनि अमेरिका र भारतबीचको सम्बन्ध एक आपसमा सुमधुर बनाएको बताइएको छ। एजेन्सी
Shares

प्रतिक्रिया