राजनीति


सर्वोच्चको फैसला स्वीकारेको कोइराला समूह गएन देउवा पक्षको छलफलमा

सर्वोच्चको फैसला स्वीकारेको कोइराला समूह गएन देउवा पक्षको छलफलमा

नेपालखबर
बैशाख ६, २०८३ आइतबार १४:१४, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको समूहले सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्णयलाई स्वीकारेर पार्टी सुदृढीकरणमा जोड दिने निष्कर्ष निकालेको छ।

आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा बसेको कोइराला समूहको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

नेता जीवन परियारका अनुसार पार्टीभित्र एकता कायम राख्न सभापति गगन थापाको जिम्मेवारी रहेको निष्कर्ष निकालेको छ।

‘वर्तमान अवस्थामा नेपाली कांग्रेसभित्र बृहत्तर हित, एकता र सुदृढ संगठन निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो। तथापि पार्टी केन्द्रीय कार्यसमिति एवं सभापतिको अझ बढी नै जिम्मेवारी रहन्छ,’ उनले भने।

पार्टीको स्थापनाकालदेखि र प्रतिबन्धित अवस्थामा समेत स्वतन्त्र न्यायपालिकाप्रति विश्वास, निष्ठा र सम्मान रहँदै आएको उनको भनाइ छ।

‘यस कठिन परिस्थितिमा पार्टीका आगामी चुनौतीलाई सामना गर्न हामी सबै आआफ्नो ठाउँबाट जिम्मेवार र प्रतिबद्ध रहनसमेत पार्टीका सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछौँ,’ परियारले भने।

छलफलमा निवर्तमान उपसभापति गुरुङ, पूर्वमहामन्त्री शशांक कोइराला, निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, नेताहरू मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सरिता प्रसाईं, चन्द्रमोहन यादव, सीता थपलिया लगायत सहभागी थिए।

पार्टीभित्र नियमित र विशेष महाधिवेशन विवादमा कोइराला समूह देउवा पक्षसँग उभिएको थियो।

सर्वोच्च अदालतको फैसलापछि कोइराला समूह निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्षको बैठकमा सहभागी हुन छाडेको छ।

शनिबार खड्का निवासमा भएको छलफलमा पनि कोइराला पक्ष सहभागी भएन।

आइतबार (आज) धुम्बाराहीमा जारी देउवा पक्षीय छलफलमा पनि कोइराला समूह सहभागी भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad