अमेरिकी उपसहायक विदेशमन्त्री समिर पल कपुरले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए। काठमाडौं ओर्लिए लगत्तै उनले लामिछानेसँग पहिलो भेट गरेका हुन्।
बैठकमा के भयो त ?
अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ साउथ एशिया एन्ड सेन्ट्रल एशिया अफेयर्समार्फत् कपुरले आफ्नो भनाई सार्वजनिक गरेका छन्।
रास्वपाका प्राथमिकता र नेपाल अमेरिका सहयोगका क्षेत्रमा रविसँग छलफल भएको उनले बताएका छन्।
‘नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रथामिकताबारे बुझ्न र नेपाल–अमेरिका सहयोगका क्षेत्रबारे छलफल गर्न काठमाडौंमा रास्वपा सभापति रवि लामिछानेसँग भेट्दा खुशी लाग्यो’, उनले भनेका छन्।
सोमबार बिहान काठमाडौं ओर्लिए लगत्तै कपुरले राजनीतिक भेटवार्ता थालेका थिए। काठमाडौं आइपुग्ना साथ उनलाई नेपालका लागि कार्यवाहक अमेरिकी राजदूतले छोटो ब्रिफिङ गरेका थिए।
त्यस लगत्तै उनी रास्वपा सभापति रवि भेट्न इटालीटार पुगेका थिए।
एआई प्रयोग बढाउन टेक्नोलोजी उद्यमीसँग छलफल
रविलाई भेटेपछि उनले प्रविधि क्षेत्रका उद्योगी भेटेका थिए। उनले अमेरिकी व्यवसायिक अवसरहरुको विस्तारबारे उद्योग क्षेत्रका व्यक्तिसँग महत्वपूर्ण छलफल भएको बताएका छन्।
‘डिजिटल पूर्वाधार सुदृढ गर्ने, एआई प्रयोग बढाउने, साइबर सुरक्षा र अमेरिकी प्रविधिको दक्षता आदान प्रदान गर्ने विषयमा पनि छलफल भयो’, उनले भनेका छन्।
बालेन सरकार गठन पछि अमेरिकाको तर्फबाट भएको यो नै सबैभन्दा उच्च तहको भ्रमण हो।
अमेरिकी दूतावासका अनुसार नेपालमा रहँदा उनले सरकारी अधिकारी, व्यावसायिक नेतृत्वकर्ता र सांस्कृतिक विज्ञहरूसँग पनि भेटघाट गर्नेछन्।
Shares

प्रतिक्रिया