राजनीति


राप्रपा राजाको पार्टी होइन: राजेन्द्र लिङ्देन

‘सरकारमा नजाँदैमा पार्टी ठुलो हुने भए नेमकिपा र जनमोर्चा किन सानो?’
राप्रपा राजाको पार्टी होइन: राजेन्द्र लिङ्देन

नेपालखबर
बैशाख १३, २०८३ आइतबार ११:४१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको कुनै दल नहुने भन्दै आफ्नो दल राजाको पार्टी नभएर राजसंस्था मान्नेहरूको पार्टी भएको बताएका छन्।

पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रमअन्तर्गत शनिबार तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा सम्वर्द्धनवादी दर्शन बोकेको पार्टी भएको बताएका हुन्।

राजा र राजसंस्था कुनै पार्टीको नहुने र राजसंस्थाको पनि कुनै पार्टी नहुने भन्दै अध्यक्ष लिङ्देनले राजसंस्था कुनै पार्टी, संगठन र विचारभन्दा माथि रहेको बताए। राप्रपालाई राजाको दल भनेर प्रचार गर्ने र विवादित तुल्याउनेहरू राजसंस्थाको पक्षपाती नभएको बताए।

गत फागुन २१ गते भएको निर्वाचनअघि आएको पूर्वराजाको सम्बोधनलाई लिएर कतिपय राजसंस्थावादीले राप्रपा निर्वाचनमा जानु गल्ती भएको भनेर टिप्पणी गरिरहेका बेला अध्यक्ष लिङ्देनको जवाफ आएको हो।

राप्रपा निर्वाचनमा नगएको भए हुन्थेन भन्ने प्रश्नमा अध्यक्ष लिङ्देनले भने, ‘राप्रपा निर्वाचनमा नगएको भए आजको राजनीतिक परिदृश्य र संसदीय मञ्चबाट राप्रपा र राजसंस्थाको पक्षपाती शक्तिको हालत के हुन्थ्यो? आफूलाई राजसंस्थावादी भन्नेहरूले राप्रपा भन्ने अस्तित्वमै नरहोस् भन्ने चाहेका हुन्? संसद्‌मा राजसंस्थाको एजेन्डा राप्रपाकै कारणले घन्किरहेको छैन?’

गणतन्त्रको सरकार र यसभित्रको भूमिकामा जानुहुँदैन भन्नेहरूप्रति लक्ष्य गर्दै अध्यक्ष लिङ्देनले सरकारमा नजाँदैमा पार्टी ठुलो हुने भए नेमकिपा र राष्ट्रिय जनमोर्चाजस्ता पार्टी कमजोर नभएर ठुलो हुनुपर्ने नि त भन्ने तर्क गरे। 

आफ्नो दर्शन र सिद्धान्तमा प्रतिबद्ध रहँदै जनताको सेवा गर्ने भूमिका पनि लिनुपर्ने अध्यक्ष लिङ्देनले बताए। 

पार्टीमा चलिरहेको विवादबारे मुख खोल्दै लिङ्देनले चुनाव अघिसम्म सबैलाई मिलाएर लैजाने प्रयास गर्दा आफूलाई कमजोर सोचेर पार्टीका नेता-कार्यकर्ताले अनुशासनविपरीत मनपरी कार्य गरेकाले अनुशासनको कारबाही चलाइएको दाबी गरे। 

चुनाव अघिसम्म आफ्नै अघि भएको कार्यक्रममा हातपातमा उत्रने साथीहरूलाई समेत माफी दिएको उल्लेख गर्दै उनले अब त्यस्ता प्रवृत्तिसँग सम्झौता नगर्ने बताए।

पछिल्ला दिनमा राप्रपाले पार्टीका उपाध्यक्ष, केन्द्रीय सदस्य र महिला संगठनका नेताहरूलाई निलम्बन गरेको विषयमा लिङ्देनले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका हुन्। 

उनले आफू हदैसम्म लचिलो भएको तर त्यसलाई नेतृत्वको कमजोरी सम्झेर पार्टी सदस्यको सीमा मर्यादा उल्लंघन गरी अनुशासनविपरीत कार्य गर्ने कसैलाई पनि अब नछाडिने चेतावनी दिए। 

सहभागीहरूले बोल्ने क्रममा पार्टीका उम्मेदवारलाई सहयोग नगर्ने, पार्टीका पक्षमा मत नमाग्ने, आफू पनि मत नहाल्ने र बरु अर्को पार्टीलाई मत दिन प्रेरित गर्ने तर सामाजिक सञ्जालमा नीति र नेतृत्वविरुद्ध चर्का कुरा गर्नेलाई कारबाही गर्न थालिएको उनले बताए।

अनुशासनबिना पार्टी बलियो नबन्ने भएकाले आफू अब सम्झौताका पक्षमा नरहेको लिङ्देनको भनाइ छ। 

पार्टीमा एकपक्षले महाधिवेशनको रटान लगाएको भन्दै उनले जिल्ला अधिवेशन सम्पन्न हुनेबित्तिकै महाधिवेशन गरिने बताए।

महाधिवेशनको मिति आफूले तय गर्ने नभएर आसन्न केन्द्रीय समितिले गर्ने लिङ्देनको भनाइ छ।

‘सबै प्रदेशको समीक्षा सकिनासाथ केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्छ, त्यो बैठकले केन्द्रीय समितिको बैठकको मिति तय गर्छ र केन्द्रीय समितिले महाधिवेशनको कार्यक्रम ल्याउँछ’, लिङ्देनले भने।

यथाशक्य महाधिवेशन गर्न आफू तत्पर रहेको, महाधिवेशन टार्ने कुनै नियत नभएको भन्दै लिङ्देनले महाधिवेशनमा कार्यकर्ताको माझबाट अध्यक्ष चुनिएर आउने सुविधा सबैलाई भएको तर महाधिवेशनअगावै पार्टीको हितविरुद्ध गतिविधि गर्ने छुट कसैलाई नभएको टिप्पणी पनि गरे। 

‘राप्रपाले निर्वाचनमा अपेक्षाकृत परिणाम ल्याउन नसक्नुमा केस्रा केस्रा केलाएर हेर्दा अन्य पक्ष पनि जिम्मेवार देखिएलान् तर नेतृत्वको रूपमा आफूले जिम्मेवारी लिने र भावी दिनमा पार्टीको कार्यशैलीमा परिवर्तन गर्दै पार्टीलाई हस्तक्षेपकारी शक्तिका रूपमा स्थापित हुन आफू लागिपर्छु’, लिङ्देनले भने। 

राप्रपाले हालै सम्पन्न निर्वाचनको प्रदेश तहमा समीक्षा गरिरहेको छ। यस क्रममा मधेस प्रदेश, कोसी प्रदेश र गण्डकी प्रदेशमा समीक्षा बैठक सम्पन्न भएको र वैशाख १४ गते लुम्बिनी प्रदेशको भैरहवामा, १५ गते बागमती प्रदेशको काठमाडौँमा र १७ गते सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा समीक्षा बैठक गर्ने तालिका छ। कर्णाली प्रदेशको भने मिति तय हुन बाँकी रहेको राप्रपाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad