राजनीति


भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसमा सहमति

भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसमा सहमति

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १३:२, काठमाडौँ

नेपाली कांग्रेसमा भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने सहमति भएको छ। 

उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले संसदीय दल नेताका लागि आङ्देम्बेको नाममा सहमति जुटाएको हो। पूर्वसहमहामन्त्री अर्जननरसिंह केसीले दलको नेताको दाबी छाडेपछि आङ्देम्बेको नाममा सर्वसम्मित भएको एक पदाधिकारीले बताए। 

केसीका साथै सांसदहरू मोहन आचार्य, बास्ना थापा, निस्कल राई, फिर्दोष आलाम र चन्द्रमोहन यादवलगायतले दलको नेतामा दाबी गरेका थिए। 

आङदेम्बे पार्टीको पूर्वसहमहामन्त्री तथा समानुपातिक सांसद हुन्। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति गगन थापाले आङदेम्बेका नाम सर्वसम्मतका लागि पेश गर्नेछन्। 

केन्द्रीय कार्यसम्पादन समितिबाट अनुमोदन भएपछि आज दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने दलको बैठकले नेता चयन गर्नेछ। कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दलको नेता सहमति जुटेको नेपालखबरलाई बताए।

गत फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा सभापति थापासहित सबै शीर्ष नेता पराजित भएपछि समानुपातिक सांसद आङदेम्बेलाई दलको नेता बन्ने मौका मिलेको हो। कांग्रेसको १४औँ महाधिवेशनमा निर्वतमान सभापति शेरबहादुर देउवा पक्षबाट आङ्देम्बे सहमहामन्त्रीमा निर्वाचित भएका थिए। पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनको पनि उनी विपक्षमा थिए। 

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनपछि उनी मझधारमा थिए। देउवा-शेखर कोइराला समूहले गत चैतमा नवनिर्वाचित सांसदलाई बधाईका लागि धुम्बाराहीको स्मार्ट होटलमा राखेको कार्यक्रममा आङदेम्बे अनुपस्थित थिए। सोही होटलमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित निवर्तमान केन्द्रीय सदस्यको बैठकमा पनि आङदेम्बे देखिएका थिएनन्।

देउवा र थापा पक्षसँग समदुरीको सम्बन्धमा बसेका आङदेम्बे संसद्मार्फत थापाको पक्षमा प्रष्ट उभिएका थिए। शनिबार मात्र आङ्देम्बे सामाजिक सञ्चालमार्फत आफू सभापति थापाको स्पिरिड अनुसार अगाडि बढेको भन्दै समूहको लेबल नलाउन आग्रह गरेका थिए।

२०७० सालमा भएको संविधानसभा निर्वाचनमा तत्कालीन पाँचथर-२ बाट निर्वाचित आङदेम्बे संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सभापति भएका थिए। आङदेम्बेका हजुरबुवा देउमान आङदेम्बे २०१३ माघ २३ गते पुनर्गठित टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषदमा अर्थ तथा मालपोत उपमन्त्री भएका थिए। लिम्बू समुदायबाट पहिलो मन्त्री बन्ने अवसर देउमानले पाएका थिए। 

सात दशक लामो इतिहास भएको कांग्रेसमा लिम्बू समुदायबाट दलको नेता बन्ने अवसर भीममराज आङदेम्बेले पाउने निश्चित भएको नेताहरू बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad