राजनीति


सशस्त्र प्रहरीको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १५:५, काठमाडौँ

सरकारले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षकमा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई महानिरीक्षक बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए। 

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले वैशाख १८ गतेपछि महानिरीक्षकको कमाण्ड सम्हाल्नेछन्।

हालका महानिरीक्षक राजु अर्यालको चार वर्षे कार्यकाल वैशाख १८ गते सकिँदै छ। उनी अवकाशमा जाने भएपछि सरकारले पौडेललाई महानिरीक्षक बनाउने निर्णय गरेको हो। 

२०५४ चैत १८ गते नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएका पौडेल २०५८ वैशाख ४ गते सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन्। त्यसअघि नेपाल प्रहरीमै रहँदा उनले रोल्पामा स्ट्राइकिङ टोलीको कमान्ड गर्दा उत्कृष्ठ सुरक्षा व्यवस्था मिलाएको भन्दै एक ग्रेड बढुवा गरेर पुरस्कृत गरिएको थियो। 

इलाका प्रहरी कार्यालय विर्तामोड झापा, प्रहरी प्रशिक्षण प्रतिष्ठान, जिल्ला प्रहरी कार्यालय दाङमा खटिएका थिए। त्यसपछि सशस्त्र प्रहरीमा सरेका हुन्।

सशस्त्र प्रहरीमा गएसँगै एक तह बढुवा भएर डीएसपी भएका थिए। सशस्त्र प्रहरीमा गएपछि उनी सुरक्षा बेश तुल्सीपुरको प्रमुख भए। त्यसपछि राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पनि खटिएका थिए। 

एसपीमा बढुवा भएपछि शान्ति प्रक्रियाका बेला अनमिन मातहत हतियार अनुगमनको सदस्यको रुपमा काम गरेका थिए। एसपीमै रहँदा सीमा सुरक्षा कार्यालय बर्दिया, निलबराही गण र बंगलामुखी विशेष कार्यदल गणको गणपति भएका थिए। 

यस्तै पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकली, सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्य विभाग र उपत्यका सशस्त्र प्रहरी बल मुख्यालय पशुपतिनाथ बाहिनीमा पनि खटिएका थिए। 

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि प्रधान कार्यालयमा प्रशासन विभाग, व्यवसायिकता तथा गुणस्तर निर्धारण निर्देशनालय, उपत्यका सुरक्षा कार्यालयमा रही नीतिगत तथा रणनैतिक योजनाहरू निर्माणमा काम गरेको अनुभव पौडेलसँग छ। 

सशस्त्र प्रहरी बल प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा प्रमुख तथा यूएन शान्ति स्थापनार्थ तालिम शिक्षालय, ककनीका समादेशकको रुपमा काम गरेका पौडेलले एसएसपी हुँदै पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकली र सुदूरपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बैद्यनाथ बाहिनीमा सहायक बाहिनीपतिका रुपमा जिम्मेवारी पाएका थिए। 

डीआईजीमा बढुवा भएपछि कार्य तथा सीमा सुरक्षा विभाग र मानवश्रोत विभागमा खटिएका थिए। यस्तै बाहिनीपतिको रुपमा लुम्बिनी तथा गण्डकी प्रदेशस्थित बाहिनी मुख्यालयहरूमा नेतृत्व गरेका थिए। 

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएपछि मानवश्रोत, सीमा तथा कार्य विभागको विभागीय प्रमुखका रुपमा काम गरेको अनुभव पनि उनीसँग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad