राजनीति


सांसद विश्वराज पोखरेलबारे रविले भने- अनुशासन आयोग छ, हामी हेर्दैछौँ

सांसद विश्वराज पोखरेलबारे रविले भने- अनुशासन आयोग छ, हामी हेर्दैछौँ

नेपालखबर
बैशाख १४, २०८३ सोमबार २०:३६, काठमाडौँ

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदहरूको व्यवहार र आचारणबारे पार्टीले मसिनो ढंगले हेरिरहेको बताएका छन्।

केहीदिन अघि ओखलढुङगाका सांसद विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकलाई स्वागत नगरेको भन्दै अपमान गरेको विषयप्रति पहिलो पटक प्रतिक्रिया दिँदै उनले यसबारे पार्टीको अनुशासन कमिटीले समेत अध्ययन गरिरहेको खुलासा गरे। 

‘जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन,’ सभापति लामिछानेले सोमबार सञ्चारकर्मीसँग भने, ‘हामी सेवक हौँ। यो हेक्का सबैलाई हुनुपर्छ। मालिक हुन मन हुनेहरूका लागि अरु नै ठाउँ होला।’

ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी पोखरेलले वैशाख ११ गते एक विद्यालयका प्रधानाध्यापक आफ्नो स्वागतमा नआइ कार्यालयमै बसेको भन्दै अपमानपूर्ण गाली गलौज गरेको भिडिओ सार्वजनिक भएको थियो।

‘म आउँदैछु भन्दा तपाईं निस्किनुपर्छ, तपाईं कर्मचारी हो। म रिटायर्ड विशिष्ट श्रेणीको कर्मचारी हुँ,’ पोखरेलले भनेको भिडिओमा देखिन्छ, ‘जिल्लाको एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने?’ 

यद्यपि, यस भनाइ विवादमा परेपछि सांसद पोखरेलले माफी मागेका थिए। 

‘ओखलढुंगामा भएको विषय पनि सोध्नुभयो त्यसमा उहाँको सार्वजनिक अभिव्यक्ति उहाँको क्षमा आइसक्या छ नि त। त्यसले अरु साथीलाई पनि काम लागोस् कि हामी मालिक हुन मन भएर होइन कि, सेवक हुन मन भएर राजनीतिमा आएका मानिस हौँ। सबै साथीहरूले यसै कुरालाई मध्यनजर गर्नुहोला’ रविले थपे।

उनले पोखरेलको व्यवहारलाई पार्टीले मिहिन ढंगले लिएको र अनुशासन आयोगलेसमेत हेरिरहेको बताए।

‘सेवकको भावना हुने वित्तिकै यस्ता कुराहरू मानसपटलमा अभिव्यक्त हुन सक्तैन। मलाई लाग्छ उहाँले सार्वजनिक रुपमा माफी मागिसकेपछि यो सहज भयो होला। तरपनि पार्टीले कुनै कुनै ढंगले यसलाई अझै मिहिन ढंगले हेर्छ। अनुशासन आयोग छ, हामी हेर्दैछौँ,’ उनको थप भनाइ छ। 

सभापति लामिछानेले वर्षाैंदेखि दबिएका दलितको विषयमा सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्तिको बचाउ गर्दै प्रताडित समुदायको चर्को आवाज सुन्दा झर्को मान्न नहुने बताए 

यद्यपि एउटा मर्यादाको दायरा सबैलाई लागू हुने उनले बताए।

‘त्यसलाई मैले हेर्न बाँकी नै छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad