नेपाली कांग्रेसका सभापति गगन थापाले गौरवशाली स्थानीयदेखि प्रदेश सरकारको जिम्मेवारीमा रहेका कांग्रेस नेतालाई सुशासनमा ध्यान दिन आग्रह गरेका छन्।
शनिबार नेता दमन पाख्रेलको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै सपभाति थापाले कसैले पनि तलमाथि गर्न नहुने बताए। ‘स्थानीय तहदेखि प्रदेश सरकारसम्म जिम्मेवारीमा रहेका कुनै पनि व्यक्तिले एक सुका पनि तलमाथि गरेको कुरा स्वीकार्य हुँदैन,’ थापाले भने, ‘सुशासनका सन्दर्भमा पार्टीले शून्य सहनशीलताको नीति लिनेछ।’
उनले समाजमा स्थापित गर्न खोजिएको ‘पुरानो हुनु भनेको खराब हुनु हो’ भन्ने भाष्य राष्ट्र र समाजका लागि घातक हुने बताए। कांग्रेसको लिगेसी दमन पाख्रेल, दुर्गानन्द झा, रामनारायण मिश्र जस्ता योद्धा र विद्रोहीहरूको बलिदानीपूर्ण इतिहासमा अडिएको उल्लेख गर्दै यसको जगेर्ना गर्ने मुख्य जिम्मेवारी नेता तथा कार्यकर्ताकै भएको बताए।
‘पुरानोलाई थोत्रो वा खराब मान्ने र नयाँलाई मात्र असल मान्ने प्रवृत्तिले समाजको अनुभव र विवेक नष्ट गर्छ। यदि नयाँ पुस्ताले आफ्नो इतिहास, संस्कृति र पुर्खाको योगदानमा गर्व गर्न छाड्यो भने राष्ट्रको अस्तित्व नै सङ्कटमा पर्न सक्छ,’ थापाले भने, ‘८० वर्षका वृद्धदेखि २५–३० वर्षका युवासम्मलाई उचित स्थान दिएर कांग्रेसलाई सबै जाति, समुदाय र उमेर समूहको साझा पार्टी बनाउनु हाम्रो प्राथमिकता हो।’
पार्टीको आन्तरिक सुदृढीकरणका विषयमा बोल्दै सभापति थापाले सार्वजनिक पदमा रहेका कांग्रेसका प्रतिनिधिलाई सुशासन कायम गर्न निर्देशन दिए। पार्टी सञ्चालनका लागि कसैले पनि नेता वा पार्टीको खातामा अवैध रकम जम्मा गर्नु नपर्ने र लेभी प्रणालीबाटै पार्टी चल्नुपर्नेमा जोड दिए।
आगामी सातादेखि सातै प्रदेशको भ्रमण गर्ने र प्रदेश तथा स्थानीय सरकारका प्रमुखहरूसँग नीति, कार्यक्रम, बजेट र सुशासनका विषयमा छलफल गर्ने उनले बताए। सातै प्रदेशका स्थानीय सरकारका प्रतिनिधिलाई बोलाएर अर्थतन्त्रको वर्तमान सङ्कट र प्रदेशका प्राथमिकताबारे कांग्रेसले ठोस संवाद गर्ने उनको भनाइ थियो।
पार्टीभित्र वृहत्तर एकताको आवश्यकता औँल्याउँदै सभापति थापाले नेतृत्वको हैसियतले सबैलाई समेट्न आफू उदार र लचिलो हुन तयार रहेको बताए। विभिन्न नेताहरूको नाममा स्थापित प्रतिष्ठानलाई व्यवस्थित बनाउन पार्टीले नै विशेष पहल गर्ने उनले प्रतिबद्धता जनाए।
Shares

प्रतिक्रिया