सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई सुकुमबासीको आत्महत्या विषयमा पोष्टमार्टम र अनुसन्धान रिपोर्ट हेरेपछि मात्रै यसै हो भन्न सकिने बताएका छन्।
गत साता बागमती किनारका घर, टहरामा बसोबास गर्दै आएका २ जनाले देहत्याग गरेका थिए।
‘मैले मैले सञ्चारमाध्यमबाट थाहा पाएँ। यो अनुसन्धानको विषय भएकाले साँच्चै नै सञ्चारमाध्यममा आए जस्तो हो कि होइन वा अन्य घटना हो भन्ने नबुझी प्रतिक्रिया दिनु अलि छिटो हुन्छ होला’, आइतबार पार्टी सचिवालय बैठक सकेर बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँग भने, ‘रिपोर्टले कहिले यो घटना भएको हो, कसरी मृत्यु भयो, यो बस्तीसँग सम्बन्धित हो कि होइन भन्ने रिपोर्ट आइसकेपछि प्रतिक्रिया दिनु सही हुन्छ।’
अहिले यो विषयमा प्रतिक्रिया दिनु अन्दाज गर्नु हो भन्दै उनले भने, ‘विषय ठ्याक्कै त्यस्तो हो वा फरक हो अहिले अन्दाज गर्नुभन्दा अनुसन्धान रिपोर्टहरु आएपछि भन्नु वास्तविक हुन्छ।’
घर, टहरा भत्काएर सकुमबासीलाई स्थानान्तरण गरिरहँदा थापाथली र बल्खुमा दुई जना मृत भेटिएका थिए। सामान सार्दै गर्दा एक व्यक्तिले बागमतीमा हामफालेर आत्महत्या गरेको विषय सार्वजनिक भएको थियो। त्यो बाहेक थापाथलीस्थित सुकुमबासी बस्तीमा १७ वर्षीय किशोर मृत भेटिएका थिए।
उनीहरु दुवैले आत्महत्या गरेको हुन् वा होइनन् भन्ने यकिन गर्न अनुसन्धान र पोष्टमार्टम रिपोर्ट हेर्नुपर्ने जनाएको हो।
Shares

प्रतिक्रिया