राजनीति


सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १८:३५, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले सुकुम्बासी व्यवस्थापनका नाममा ‘डोजर आतंक’ मच्चाएको आरोप लगाउँदै नसच्याए प्रतिकार गर्ने चेतावनी दिएका छन्।

पार्टीको संसदीय समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङदेम्बेले सरकारको कार्यशैली मानवीय मूल्य र मान्यताविपरीत रहेको बताएका हुन्। 

नेता आङदेम्बेले सुकुम्वासी बस्ती हटाउने नाममा राज्यले जनतालाई मर्न बाध्य पारेको भन्दै चिन्ता व्यक्त गरे। वास्तविक सुकुम्बासीको लगत संकलन नगरी हचुवाका भरमा डोजर चलाउँदा होल्डिङ सेन्टरहरूमा सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था दयनीय बनेको र केही व्यक्तिको मृत्युसमेत भइसकेको उनले उल्लेख गरे। राज्यले आफ्नो व्यवहार नसच्याए सहयोगी हातहरू प्रतिवाद र प्रतिकारमा उत्रने चेतावनी दिँदै उनले यसको जिम्मेवार सरकार नै हुनुपर्ने बताए। 

उनले भने, ‘नदी किनारलाई व्यवस्थित गर्ने र सफा बनाउने कार्यमा हाम्रो सकारात्मक सहयोग रहन्छ, तर सुकुम्बासी उठाउने नाममा राज्यले जसरी आतंक मच्चाइरहेको छ, यसले मानवीय संवेदना र कानूनी पाटो दुवैलाई उल्लंघन गरेको छ। संवैधानिक आयोगहरूलाई आफ्नो नियन्त्रणमा राख्ने ढंगबाट सरकार अगाडि बढेको छ, यसका विरुद्ध हामी संसदमा संशोधन प्रस्तावसहित संसदीय प्रक्रिया अनुसार सशक्त रूपमा प्रश्तुत हुनेछौँ।’

नेता आङदेम्बेले सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक निकायहरूमा आफ्नो अनुकूलका व्यक्ति नियुक्ति गर्न खोजेको भन्दै आपत्ति जनाए। 

उनले संसद छलेर अध्यादेशमार्फत शासन चलाउन खोज्नुले सरकारको ‘कुनियत’ प्रष्ट भएको टिप्पणी गरे। 

संसद अधिवेशनको मिति पटक–पटक सार्ने र हठात आह्वान गर्ने कार्यले जनभावनाको अपमान गरेको उनको ठहर छ। सरकारका जनविरोधी निर्णयका विरुद्ध संसदमा रहेका अन्य विपक्षी दलहरूसँग पनि समन्वय भइरहेको नेता आङदेम्बेले जानकारी दिए।

मुद्दाका आधारमा विपक्षी दलहरू एकै ठाउँमा आउने पहल भइरहेको र संसदमा सामूहिक रूपमा सरकारको कार्यशैलीको प्रतिवाद गरिने उनले बताए।

संसदीय समन्वय बोर्डको अभ्यासका विषयमा प्रष्ट पार्दै उनले पार्टीले यसअघि गरेका निर्णयहरूको कार्यान्वयन र आगामी संसदीय रणनीतिबारे बोर्डमा घनीभूत छलफल भएको जानकारी समेत दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad