नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतको केरला राज्यमा भएको वामपन्थी शक्तिको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलनको तुलना गर्नु गतल भएको बताएका छन्।
सामाजिक सञ्जालमा उनले भारतको केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको तर्क गर्दै त्यहाँको निर्वाचन परिणामलाई नेपालको वर्तमान अवस्थासँग तुलना गर्न नहुने दाबी गरेका छन्।
‘भारतको केरला राज्यमा भएको वामपंथको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको भनेर विश्लेषण गर्न थालिएको छ,’ सामाजिक सञ्जालमा पोखरेलले लेखेका छन्, ‘जबकि केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको इतिहास छ। अपवादका रूपमा अघिल्लो निर्वाचनमा वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको थियो।’
उनले नेपालको वामपन्थको भविष्य कुनै एक चुनावी परिणाम निर्धारण नगर्ने कर्त पनि गरेका छन्।
‘नेपालको वामपन्थको भविष्य कुनै एक चुनावी परिणामले होइन, त्यसका भविष्यमुखी एजेन्डा, जनता र राष्ट्रको हितका पक्षका गतिविधि र जनतासंगको सम्वन्धका आधारमा निर्धारण हुन्छ,’ पोखरेलले भनेका छन्, ‘अहिलेको हार केवल वामपन्थको मात्र हार होइन, यो नेपालको समग्र लोकतान्त्रिक शक्तिहरूको हार हो।’
अहिलेको मुख्य विषय नेपालको लोकतान्त्रिक आन्दोलनको आधारका रुपमा रहेका शक्तिहरुले यस प्रकारको हारको कारण खोज्नु, त्यसको गम्भीर समीक्षा र मूल्यांकन गर्नु, तथा सुरक्षित लोकतान्त्रिक भविष्य निर्माणका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना तयार गर्नु भएको बताएका छन्।
‘संकट र चुनौतीको समयमा निराशा र पलायनता अवसरवादी र कायरहरुको वाटो हो। एउटा क्रान्तिकारीले संकट र चुनौतीलाई सामना गर्दछ र प्रतिकुलतालाई अनुकुलतामा बदल्ने काम गर्दछ,’ उनले भनेका छन्।

Shares

प्रतिक्रिया