नेपाली कांग्रेससहितका प्रतिपक्ष दलहरूले लिपुलेक लगायतका नेपाली भूमि फिर्ता लिनका लागि सरकारले पर्याप्त कुटनीतिक पहल गर्न सरकारलाई दबाब दिएका छन्।
बिहीबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै प्रतिपक्ष दलका सांसदहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएकाले सरकारले त्यसलाई फिर्ता ल्याउनका लागि कुटनीतिक पहलकदमीमा पर्याप्त ध्यान दिनुपर्ने बताएका हुन्।
नेपाली कांग्रेसका सांसद सन्दीप राना, नेकपा (एमाले)की सांसद भूमिका लिम्बू सुब्बा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रमेशकुमार हमालले भारत–चीन दुई छिमेकी मुलुकले नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने कार्य आपत्तिजनक भएको उल्लेख गरे।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रानाले उक्त क्षेत्रको नेपाली भूमि फिर्ता ल्याउनका लागि सरकारले दुवै मुलुकसँग बसेर प्रत्यक्ष वार्ता गर्ने कुरामा पनि ढिलाई गर्न नहुने बताइन्। उनले नेपालले उक्त क्षेत्रको बारेमा भारत र चीनसँग छलफल गर्दा पर्यटन प्रवर्द्धन गर्ने विषयलाई पनि महत्वका साथ अघि बढाउनुपर्ने बताइन्।
सांसद रानाले भनिन्, ‘लिपुलेकको कुरा छ। हामीले कुटनीतिक नोट पठाएको कारण छिमेकी मुलुकले चासो देखाउनुपरेको छ। तर एक कदम अघि बढेर हामीले दुवै राष्ट्रसँग बसेर टेबलमा छलफल गर्न आवश्यक छ। त्यो हाम्रो भूमि हो। त्यसमा कैलाश मानसरोवर यात्राका लागि त्यसलाई प्रयोग गरिएको भनिएको छ।’
उनले थपिन्, ‘यसमा हामीले के पनि अघि बढाउनुपर्नेछ भने हाम्रा पौराणिक मान्यताहरुलाई पनि यसमा अघि बढाउनुपर्नेछ। कैलाश दर्शन गर्ने कुरा छ। त्यसमा ५ वटा कैलाश दर्शन गर्ने कुरा छ। त्यसमध्ये ४ वटा कैलाश नेपालमा छ । त्यसको पनि प्रचार गरेर हामीले कुटनीतिक पहल गर्नुपर्दछ। जसले नेपालको पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण भुमिका खेल्छ।’
एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले नेपाली भूमि लिपुलेकबारे भारतीय पक्षले दिएको जवाफ आपत्तिजनक रहेको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गर्नका लागि सरकारले सबै राजनीतिक दलहरूसँग छलफल गरेर एकीकृत राष्ट्रिय धारणा बनाउन आवश्यक रहेको बताइन्।
सांसद सुब्बाले भनिन्,‘अहिलेको यो इस्यूलाई हाम्रो सरकारका प्रधानमन्त्रीज्यूले नोट पठाउँदा पनि भारतको विदेश मन्त्रालयबाट आएको गैरजिम्मेवारीपन लाग्छ मलाई। नेपालले यो प्रश्न उठाउनु उपयुक्त छैन भनेर भनेको जवाफमा यसमा हाम्रो सरकारले पनि ठोस एउटा नीति लिएर जानुपर्छ जस्तो लाग्छ। यसको बारेमा पहल हाम्रो यो समितिले गर्नुपर्दछ।’
अर्को प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमेशकुमार हमालले लिपुलेक लगायतका नेपाली भूमि फिर्ता ल्याउनका लागि सरकारले पर्याप्त कुटनीतिक पहल गर्न आवश्यक रहेको बताए। उनले सो सम्बन्धमा सरकारले सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर अघि बढ्न ढिलाई गर्न नहुने पनि बताए।
सांसद हमालले भने,‘लिपुलेक नाका प्रयोग गर्ने भारत–चीनको गतिविधिबारे सरकारले असहमती जनाएको कुरालाई मैले सकारात्मक रुपमा लिएको छु। तर त्यतिले मात्रै पर्याप्त हुँदैन। हामीले हाम्रो जुन भूभागहरु उल्लेख गरिएका छन्। त्यो फिर्ता लिनका निमित्त कुटनीतिक प्रयास गर्नुपर्दछ।’
सांसद हमालले सरकारले सीमा क्षेत्रमा भएका अतिक्रमण रोक्नका लागि विगतका सरकारले गरेका पहलहरूलाई ध्यानमा राखेर अघि बढ्न उपयुक्त हुने राय समेत राखे।
Shares

प्रतिक्रिया