श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलको नेता हर्कराज राईले सहकारी ठगी र जेनजी आन्दोलनबारे आफ्नो पक्षमा निर्णय गराउन प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिस गरिएको आशंका गरेका छन्।
शुक्रबार विज्ञप्ति प्रकाशित गरी राईले प्रधानन्यायाधीश सिफारिसमा प्रधानमन्त्री बालेन्द्र शाह राजनीतिक तथा कानुनी स्वार्थ राखेको आशंका गरेका छन्।
संसद छलेर राष्ट्र प्रमुखलाई दबाव दिई संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको भन्दै उनले प्रधानमन्त्री शाहको आलोचना समेत गरेका छन्।
‘संसद छलेर राष्ट्र प्रमुखलाई दवाव दिई दिई संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गराउनु गलत थियो! गलत कार्यलाई कदापि सही भन्न सकिन्न र भन्न हुँदैन! वरियताले चौथोलाई प्रधान न्यायधीश नियुक्त गर्नु अर्को ठूलो गल्ति गरेको छ यो सरकारले! यो कदम प्रति घोर आपत्ति व्यक्त गर्दछौं’ उनले भनेका छन्, ‘सारा नेपालीलाई थिति र सुशासनको आश्वासन दिएर आएको दलले यसरी विधि मिचेर गरिरहेको कार्य र दिएको नियुक्तिले पक्कै पनि राजनीतिक तथा कानुनी स्वार्थ राखेको हुन सक्छ।’
उनले आफ्नै पार्टीबाट उपसभामुख बनेकी रुबीकुमारी ठाकुरले समेत वरियताको क्रमलाई उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गरेको भन्दै खेद व्यक्त गरेका छन्।
अध्यक्ष राईले भनेका छन्, ‘नियुक्ति सम्बन्धी बैठकको क्रममा नयाँ नयाँ एक ठाउँमा आउनु पर्ने देखि एमसीसी, एसपीपी जस्ता विषय समेतको प्रसंग ल्याई दबाव र प्रभाव सृजना गरिएको अवस्थामा हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरियताको क्रमलाई उल्लङ्घन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ! यसरी विधिलाई मिचेर राजनीतिलाई अघि सार्ने चलनको सदासर्वदा श्रम संस्कृति पार्टी विरोध गर्दछ!’

Shares

प्रतिक्रिया