नेपाल महिला संघको अध्यक्षमा मिनाकुमारी खरेल चयन भएकी छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले खरेललाई महिला संघको अध्यक्ष चयन गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार, थापाले खरेललाई अध्यक्ष नियुक्त गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनाएका छन्।
चितवनकी खरेल गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनेकी थिइन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग पराजित भएकी थिइन्।
अध्यक्ष चयनसँगै उनलाई फागुन १५ गतेभित्र महाधिवेशन गर्ने कार्यादेश पनि दिइएको छ। उनलाई दिइएको १७ बुँदे कार्यादेश र कार्यविवरणमा आउँदो जेठ १५ गतेभित्र पार्टी सभापतिसँगको परामर्शमा सबै क्षेत्र, वर्ग, उमेर समूह, समुदाय र भूगोलको समेत समावेशी प्रतिनिधित्व हुनेगरी संघको केन्द्रीय कार्यसमितिलाई पूर्णता प्रदान गर्न भनिएको छ।
त्यस्तै, उनले आवश्यक परेमा सभापति थापासँगको परामर्शमा पदाधिकारी र उपसमिति गठन गर्न सक्नेछिन्। यससँगै रिक्त रहेका वा पुनर्गठन आवश्यक रहेका तल्लो तहका सबै समितिहरूको आउँदो साउन मसान्तभित्र पूर्णता दिई अधिवेशन आयोजक समिति बनाउने पनि भनिएको छ।
यससँगै केन्द्रीय निर्वाचन समितिसँग समेत समन्वय गरी आउँदो साउन १ गतेभित्र महाधिवेशनको विस्तृत कार्यतालिका पार्टी समक्ष पेश गर्न भनिएको छ। सदस्यता वितरण लगायतको सांगठनिक कार्य सम्पन्न गरी केन्द्रीय निर्वाचन समिति मार्फत तोकिएको समयमा पार्टीबाट स्वीकृत विधान बमोजिम संघको निर्वाचन प्रक्रिया अगाडि बढाउन पनि कार्यादेश दिइएको छ।
Shares

प्रतिक्रिया