संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिश भएका मनोज कुमार शर्माको संसदीय सुनुवाई प्रक्रिया अघि बढेको छ। संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
शर्मालाई प्रधान न्यायाधीश सिफारिश गर्ने निर्णयको पत्र परिषदले बिहीबार नै पठाएपछि आज शुक्रबारदेखि संसदीय समितिले प्रक्रिया अघि बढाएको हो। ‘हिजो बसेको बैठकले सुनुवाई कसरी गर्ने भन्ने विषयमा कार्यविधि पारित गरेको थियो। संवैधानिक परिषदबाट पत्र पाइसकेको हुँदा आज बिहानदेखि हामीले काम थालेका हौँ’, समितिका सभापति बोधनारायाण श्रेष्ठले नेपालखबरसँग भने, ‘भोलिदेखि जेठ ४ गतेसम्म उजुरी गर्ने म्याद तोकिएको छ। प्रक्रियाबारे सबै कुरा कार्यविधिमा उल्लेख छ। त्यहीअनुसार हुन्छ।’
उजुरी कसरी गर्ने ?
समिति सभापति श्रेष्ठका अनुसार उजुरी प्राप्त गर्न हुलाकदेखि इमेलसम्मलाई उपयोग गर्न सकिनेछ। उनी भन्छन्, ‘सिधै सचिवालयमा आएर पत्रमार्फत दिन पनि सकिन्छ। सुनुवाइ समितिका सदस्य माननीयज्यूहरुलाई प्रत्यक्ष भेटेर खामभित्र राखेर पनि दिन सकियो। ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट पनि उजुरी गर्न सकिन्छ। इमेलाबाट पनि उजुरी दिन सकिन्छ।’ उजुरी गर्दा विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउनु पर्ने हुन्छ।
सभापति श्रेष्ठका अनुसार जेठ ५ गते बस्ने समिति बैठकले सबैको रोहबरमा प्राप्त उजुरी खोल्नेछ। अध्ययनका लागि सबै सदस्यहरुलाई वितरण गर्नेछ। ‘धेरै उजुरी परे अध्ययन गर्ने समय बढी हुन सक्छ अन्यथा त्यही दिन टुंगिन पनि सक्छ’, सभापति श्रेष्ठले नेपालखबरसँग भने, ‘पाँच गतेको बैठकले सुनुवाई कुन दिन गर्ने भनेर मिति तोक्छ।’
संवैधानिक परिषदले प्रधानन्यायाधीश सिफारिश गरेका शर्मालाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन्। परिषदको बिहीबारको बैठकले उनलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिश गरेको थियो।
Shares

प्रतिक्रिया