नेपाली कांग्रेस जिल्ला कार्य समिति खोटाङको सभापतिको जिम्मेवारीमा विष्णुकुमार राई फर्किएका छन्। केन्द्रीय सभापति गगनकुमार थापाले राईलाई सभापतिको हैसियतमा कामकाज गर्ने जिम्मेवारी प्रदान गरेका हुन्।
आफूले सभापतिको जिम्मेवारी प्रदान गरिएको पत्र शुक्रबार प्राप्त गरेको राईले नेपालखबरलाई बताए।
‘म त जिल्लामै छु। सभापतिज्यूले फोन गरेर बधाई छ पत्र आउँदैछ भन्नु भएको थियो। पत्र प्राप्त भयो’, सभापति राईले भने, ‘बिचमा विवाद थियो। पार्टीका गतिविधि जाम भएका थिए। अब विवादको गुन्जास रहेन। सबै एक ढिक्का भएर अगाडि बढ्नुपर्छ। संगठन यसबिचमा क्षतविक्षत छ। अब तत्कालै बैठक बोलाउने र निर्णय गरेर क्रियाशील वडा वडामा पठाउने र संगठनलाई कसरी अगाडि बढाउने भनेर खाका बनाउँछौँ।’
२०८२ असार १७ गते बसेको केन्द्रीय अनुशासन समितिको बैठकले सभापति राईसहितलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो। तर केही महिना पहिले नै कारबाही फुकुवा गर्दै सदस्यता नवीकरण गर्ने निर्णय गरे पनि सभापतिको जिम्मेवारीमा भने नफर्काउने निर्णय गरेको थियो।
राईलाई सभापतिको जिम्मेवारीमा नफर्काए पनि अरुलाई सभापतिको जिम्मेवारी तोकिएको थिएन।
‘खोटाङको सभापति पद रिक्त रहेको र यसबिचमा नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको कार्यतालिका बमोजिम पार्टीको सांगठनिक गतिविधिहरू तथा पार्टी संरचनालाई व्यापक परिचालन गरी संगठनलाई गतिशील, प्रभावकारी र नियमित रुपमा संचालन गर्न आवश्यक देखिएकोले तपाईलाई नेपाली कांग्रेस जिल्ला कार्य समिति खोटाङको सभापतिको हैसियतले दैनिक कामकाज गर्ने जिम्मेवारी प्रदान गरेको छु’, राईलाई केन्द्रले पठाएको पत्रमा उल्लेख छ।
२०७९ को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई प्रदेशमा एउटा मात्रै टिकट दिएर संघमा तत्कालीन माओवादी र प्रदेशतर्फ अर्को सिटमा एकीकृत समाजवादीलाई टिकट दिएपछि खोटाङ कांग्रेस असन्तुष्ट बनेको थियो।
केन्द्रमा पटक पटक पहल गर्दा पनि निर्णय बदर नभएपछि जिल्ला कार्यसमितिका शीर्ष नेताहरू नै बसेर प्रदेश (क) मा स्वतन्त्र उम्मेदवार उठाएका थिए। जस कारण उक्त क्षेत्रमा गठबन्धनका उम्मेदवार पराजित हुँदा एमाले उम्मेदवार विजयी भएका थिए।
त्यसपछि राईसहित जिल्लाका नेताहरूलाई पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको भन्दै एक वर्षका लागि पार्टी सदस्यताबाटै निलम्बन गरिएको थियो। विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि सभापति राईलाई पनि जिम्मेवारीमा फर्काइएको हो।
Shares

प्रतिक्रिया