पूर्वमन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक विस्तार कार्य रोकिनु चिन्ताजनक विषय भएको बताएका छन्।
सामाजिक सञ्जालमा पाँचवटा तस्बिर पोस्ट गर्दै उनले आफू ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा आवश्यक पहल र समन्वयका कारण निर्माण कार्यले तीव्रता पाएको सडकको निर्माण कार्य अहिले विभिन्न बहानमा रोकिनु गम्भीर विषय भएको बताएका हुन्।
‘काठमाडौँ उपत्यकालाई देशसँग जोड्ने मुख्य जीवनरेखा नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक विस्तार कार्य हाल लगभग ठप्प अवस्थामा पुगेको देखिनु अत्यन्त चिन्ताजनक विषय हो,’ घिसिङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा आवश्यक पहल र समन्वयका कारण निर्माण कार्यले तीव्रता लिएको थियो। तर अहिले निर्माण सामग्री अभाव, मूल्यवृद्धि लगायतका कारण देखाउँदै काम रोकिँदा हजारौं यात्रु जोखिमपूर्ण र कष्टकर यात्रा गर्न बाध्य भएका छन्।’
विशेष गरी वर्षायाम नजिकिँदै गएको अवस्थामा सडकको काम रोकिरहनु थप गम्भीर विषय बनेको उनको भनाई छ।
‘दैनिक करिब १५ हजार सवारी साधन आवतजावत गर्ने यस सडकमा ढिलाइ हुँदा दुर्घटनाको जोखिम, लामो जाम, आर्थिक क्षति र जनसाधारणको दुःख झन् बढ्ने निश्चित छ,’ उनले भनेका छन्, ‘यो केवल सडक निर्माणको विषय होइन, राजधानीको आपूर्ति, अर्थतन्त्र र नागरिकको दैनिक जीवनसँग जोडिएको संवेदनशील सवाल हो। त्यसैले निर्माण कार्य तत्काल सुचारु गरी प्रभावकारी ढंगले अघि बढाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु। सरकारले निर्माण व्यवसायीको जायज मागलाई सम्वोधन गराउन समेत अनुरोध गर्दछु।’

Shares

प्रतिक्रिया