नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले मानव बस्तीमा डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएको छ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक युवराज दुलालले यस्तो आरोप लगाएका हुन्।
नेपालको संविधानले आवासको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको भएपनि सरकार मानव सिर्जित विपत्ति निम्त्याउन उद्दत भएको उनको आरोप छ।
उनले सुकुम्बासी बस्तीमा सुरक्षाफौज परिचालन गरेर नागरिकमाथि आतंक सिर्जना गरिएको दाबी गर्दै ईन्द्रबहादुर राईजस्ता नागरिक आत्महत्या गर्न बाध्य हुँदा सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा लाग्ने कि नलाग्ने? भन्दै प्रश्न गरे।
उनले भने, ‘संविधानमा नागरिकको मौलिक हकको रुपमा आवासको हको ग्यारेन्टी गरिएको छ। यस्तो अवस्थामा आज राज्य प्राकृतिक विपत्ति आउनुपूर्व मानव सृजित विपत्ति ल्याउन उद्दत छ। मानवहरु बसिरहेको बस्तीमा २४ घण्टे अल्टिमेटम दिएर मानिसकहरुलाई राज्यको सम्पूर्ण सुरक्षा फौजको आतंक देखाएर आत्महत्या गर्नको लागि बाध्य बनाइरहेको छ। ईन्द्रबहादुर राईहरुले आत्महत्या गर्दाखेरी सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने?’
दुलालले विधिको शासनको नारा दिएर आएको सरकारले अध्यादेशमार्फत शासन चलाउने बाटो रोज्न खोजेको आरोप समेत लगाए।
Shares

प्रतिक्रिया