राजनीति


प्रधानमन्त्री शाहको पोशाकमाथि संसद्‌मा प्रश्न, रेकर्डबाट ‘कानेखुशी’ हटाउन माग

प्रधानमन्त्री शाहको पोशाकमाथि संसद्‌मा प्रश्न, रेकर्डबाट ‘कानेखुशी’ हटाउन माग

नेपालखबर
बैशाख २८, २०८३ सोमबार २०:०, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाहले लगाएको पोशाक र कानेखुशी गरेको विषयलाई लिएर संसद्मा प्रश्न उठेको छ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रधानमन्त्री शाह कालो कोट, गञ्जी र कालो पाइन्ट र सेतो जुत्ता लगाएर संसद्मा पुगेका थिए। जुन पोशाक मर्यादित नभएको एमालेका सांसद गुरु बरालले टिप्पणी गरे। राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद दिन बसेको बैठकमा उनले प्रधानमन्त्रीको पोशाकको विषयमा नियमापत्ति गरेका हुन्। 

‘आज देशले सुशासनसँग जोडिएर राष्ट्रिय मर्यादाको माग गरेको छ। राष्ट्रिय पहिचानको माग गरेको छ। आज देशको प्रधानमन्त्रीज्यूले दुइटा राष्ट्रिय महत्त्वका बैठकहरू, संयुक्त सदनमा राष्ट्रिय पोशाकको परिपालना गर्नुपर्ने हो कि होइन?,’ बरालले प्रश्न गर्दै भने, ‘चलन त्यसै चल्दैन, चलाएपछि चल्छ, हामीहरूले कस्तो चलन चलाउने हो यो देशमा? म सभामुख महोदयमार्फत यस विषयमा रुलिङको माग गर्दछु।’

उनले प्रधानमन्त्री शाहले राष्ट्रपतिको सम्बोधन भइरहँदा कानुखुशी गरेको विषय रेकर्डबाट हटाउन आग्रह पनि गरे। ‘राष्ट्रपतिज्यूले नीति र कार्यक्रम सम्बोधन गरिरहनुभएको छ, देशको प्रधानमन्त्रीज्यू जसले नीति र कार्यक्रम टेबल गर्ने प्रक्रियामा अगाडि बढ्नु भएको थियो, बीचमा उहाँले बहिस्कार गरेर हिडेको हामीले देख्यौँ। यसले यो नीति कार्यक्रमप्रतिको हाम्रो अनरसिप के हो? यो संसद्ले बुझ्न चाहन्छ।’

त्यसपछि उनले अर्को कुरा पनि थपे। ‘बैठकमा निश्चित मर्यादाहरू हुन्छन्, राष्ट्रपतिको सम्बोधनको करिब १५ मिनेट फ्रन्ट लाइनमा बसेर अघिल्लो रोमा प्रधानमन्त्रीज्यूले के संवाद गरिरहनुभएको थियो? के छलफल गरिरहनुभएको थियो?,’ उनले भने, ‘यो संसदीय मर्यादाले नसुहाउने र अशोभनीय कुरा भएकोले त्यो रेकर्डबाट डिलिट गरियो भने पछिका लागि नजिर सही बस्नेछ। यसअर्थमा तमाम मूल्य मान्यतालाई सच्याउनको लागि अनुरोध गर्दछु।’

त्यसपछि प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले आफ्नो सचिवालयलाई के भएको हो बुझ्न लगाउने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad