राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले आफूहरूलाई सकेसम्म कम बोल्न र धेरै काम गर्न मन पर्ने बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा नबोल्नेसहितका असंसदीय क्रियाकलाप गरेको भन्दै विपक्षी कित्ताबाट चौतर्फी आलोचना भइरहँदा रास्वपाका सांसद ढकालले प्रधानमन्त्री शाहको बचाउमा अभिव्यक्ति दिएका हुन्।
उनले सामाजिक सञ्जालमा बोल्नुभन्दा काम गरेरै देखाउन पाए हुन्थ्यो भन्ने आफूहरूलाई लाग्ने गरेको तर्क गरेका छन्।
‘कति धेरै काम गर्न बाँकी छ। जनता कति पीडामा छन्। साच्चै नै यो रातदिन नभनी, नबोलिकन काम गर्नुपर्ने समय हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई पनि सकेसम्म बोल्नै नपरे हुन्थ्यो भन्ने लाग्छ। जनताले हामीलाई काम गर्न पठाएका हुन्। प्रतिपक्ष जति बोल्दा पनि हुन्छ, हामीलाई बोल्न कम पारिदिए हुन्थ्यो। सदनमा पनि भाषण गर्नुभन्दा बरु वन्यजन्तु, खानेपानी, प्रविधि, ऊर्जा र सिँचाइ लगायतका नीति( योजनाहरू बनाउन मन पर्छ। कतै विवाह, व्रतबन्ध वा सभा(समारोहहरूमा पनि नबोलाइदिए हुन्थ्यो जस्तो लाग्छ।’
उनले आफूले पनि जीवनमा कहिल्यै बोलेर पेट पालेको वा कमाएको अवस्था नरहेको तर्क गरेका छन्।
‘तर प्रतिपक्ष हाम्रो सोचको विपरीत ध्रुवमा हुनुहुन्छ। परिवर्तन ल्याउन हामी कटिबद्ध छौँ, हामी आफ्नो क्षमताले भ्याएसम्म पक्कै राम्रो गर्छौँ,’ उनले भनेका छन्, ‘हामी सबैभन्दा ठूलो दल र अभिभावकको भूमिकामा भएकोले सदन अवरुद्ध भएकोमा म क्षमाप्रार्थी छु। हामी सक्तिशालि छौँ तर यो प्रमाणित गर्ने हाम्रो शालिनताले हो उग्रताले होइन, संयमता र करूणाले हो। हामी यसमा सचेत छौँ।’
प्रतिपक्षलाई मिलाएर र सहमतिमा ल्याएर भए पनि रास्वपा नेतृत्वको सरकारले जनताले चाहेको विकास दिने भन्दै उनले भनेका छन्, ‘सदन अवरुद्ध भएपनि काम भने निरन्तर चलिरहन्छ।’

Shares

प्रतिक्रिया