राजनीति


मदन-आश्रित हाम्रो चेतनामा सधैँ जीवित रहनु हुनेछ: विद्या भण्डारी

मदन-आश्रित हाम्रो चेतनामा सधैँ जीवित रहनु हुनेछ: विद्या भण्डारी

नेपालखबर
जेठ ३, २०८३ आइतबार १०:५१, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी कम्युनिस्ट आन्दोलनको दूरदर्शी नेता भएको बताएकी छन्। 

३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेले आइतबार बल्खुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मदन भण्डारीकी पत्नीसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी नेपालको कम्युनिस्ट आन्दोलनको दूरदर्शी नेता भएको बताएकी हुन्।

त्यस अवसरमा उनले मदन-आश्रितको तस्बिरमा माल्यार्पण पनि गरेकी छन्। 

उनले मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका दूरदर्शी नेता, जनताको बहुदलीय जनवाद (जबज) का प्रवर्तक भएको बताइन्। भण्डारीले आश्रितलाई कुशल संगठकको रुपमा स्मरण गरिन्। 

‘उहाँहरूको स्मृति नेपाली राजनीति, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय चेतनामा सदैव सम्मानका साथ जीवित रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु,’ भण्डारीले भनिन्, ‘जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई केवल संगठनात्मक उचाइमा मात्र होइन, वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पुऱ्याउनुभएको थियो।’

राजनीति जनताको जीवनसँग जोडिएको विषय भएको चर्चा गर्दै भण्डारीले राजनीति जनताको विश्वासबाट निर्देशित हुनुपर्छ भन्ने मान्यतालाई मदन भण्डारीले अझ गहिरोसँग स्थापित गरेको बताइन्। 

‘हामीले गौरवका साथ स्मरण गर्ने नेकपा (एमाले) ले मार्गदर्शक सिद्धान्तको रूपमा अवलम्बन गरेको ‘जनताको बहुदलीय जनवाद’ नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार हो। यसलाई हामीले नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगको रूपमा आत्मसात गरेका छौँ। यसले लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रालाई मार्गदर्शन गर्दै एमालेलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।’

जबजको मूल मर्म भनेको जनताको मत, जनताको अधिकार र जनतामाथिको अटुट विश्वास भएको उनको भनाई थियो। 

‘बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक अभ्यास, राष्ट्रिय स्वाभिमान र सामाजिक रूपान्तरणलाई एकसाथ अघि बढाउने यसको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक छ,’ भण्डारीले भनिन्।

जीवराज आश्रितले पार्टी संगठन निर्माण, कार्यकर्ता प्रशिक्षण, अनुशासन र वैचारिक प्रतिबद्धताको विकासमा पुऱ्याएको योगदान अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्दै उनले आश्रितको समर्पण, सादगीपन, संगठनप्रतिको निष्ठा र जनतासँगको सम्बन्ध राजनीतिक कार्यकर्ताका लागि सधैं प्रेरणाको स्रोत बनिरहने विश्वास पनि व्यक्त गरिन्।

उनले विगतका राजनीतिक उपलब्धिहरूसँगै वर्तमानका चुनौतीहरूप्रति पनि  गम्भीर हुन आवश्यक रहेकोमा जोड दिइन्। ‘यदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेका छन्,’ उनले भनिन्, ‘जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो।’

उनले पार्टी र जनताबीच दूरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुने बताइन्। ‘त्यसैले हामीले जनताका भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्छ,’ उनले भनिन्, ‘राजनीति जनसेवा र समाज रूपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढङ्गले क्रियाशील हुनै पर्दछ।’ 

उनले मदन(आश्रितको स्मृतिको अवसरमा आत्मसुधार, एकता, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न प्रेरणा लिनु पर्नेमा जोड दिइन्। 

त्यसअवसरमा उनले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको यात्रामा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरिन्। 

‘अब पार्टीले पुनः जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवा भावलाई व्यवहारमा उतार्नुपर्छ,’ उनले भनिन्, ‘कार्यकर्ताहरू जनताको बीचमा पुग्नुपर्छ, जनताको दुःख(सुखमा सहभागी हुनुपर्छ र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय हुनुपर्छ।’ 

उनले युवा शक्ति राष्ट्र निर्माणको सबैभन्दा ठूलो आधार र सम्भावना भएकोमा पनि जोड दिइन्। 

‘शिक्षा, प्रविधि, उद्यमशीलता, उत्पादन र नवप्रवर्तनसँग युवालाई प्रभावकारी रूपमा जोड्न सकियो भने नेपालले विकास, रोजगारी र समृद्धिको नयाँ ढोका खोल्न सक्छ,’ भण्डारीले भनिन्, ‘त्यसैले युवामा आशा, आत्मविश्वास र स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण सिर्जना गर्नु आजको प्रमुख आवश्यकता हो । त्यसैले अब हाम्म्र क्रियाकलापहरूलाई युवा पुस्तामा केन्द्रित गरिनु आवश्यक छ।’

जननेता मदन भण्डारी र जीवराज आश्रितले देखेको समतामूलक, समृद्ध र आत्मनिर्भर नेपालको सपना अझै पूरा गर्न बाँकी रहेको उनको भनाई थियो। 

‘उहाँहरूप्रति सच्चा श्रद्धाञ्जली भनेको उहाँहरूको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्नु हो,’ भण्डारीले भनिन्, ‘त्यसैले, यो स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा होइन वैचारिक पुनर्जागरण र नयाँ संकल्पको अवसरका रूपमा लिन म सबैमा आग्रह गर्दछु।’

जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि हामी सबै एकताबद्ध भएर अघि बढ्न पनि उनले आग्रह गरिन्। 

कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरूको सहभागिता थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad