राजनीति


पार्टी सदस्यता रोकिएयता विद्या भण्डारी पहिलोपटक एमालेको प्रमुख अतिथि

पार्टी सदस्यता रोकिएयता विद्या भण्डारी पहिलोपटक एमालेको प्रमुख अतिथि

नेपालखबर
जेठ ३, २०८३ आइतबार १२:५४, काठमाडौँ

पार्टी सदस्यता रोक्ने निर्णय गरेयता आफ्ना पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले पहिलोपटक प्रमुख अतिथिका रूपमा आफ्नो कार्यक्रममा स्थान दिएको छ। 

३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा एमालेले आइतबार आफ्नो पुरानो कार्यालय रहेको मदननगर बल्खुमा आयोजना गरेको सभामा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाइएको हो। 

पूर्वराष्ट्रपति भण्डारीका पतिसमेत रहेका एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चितवनको दासढुंगामा गाडी दुघर्टनामा परी निधन भएको आज (जेठ ३ गते) ३३ वर्ष पुगेको हो।

सो अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाएर एमालेका उपाध्यक्षत्रय रामबहादुर थापा, विष्णु पौडेल र गोकर्ण विष्ट तथा महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिवहरू पद्मा अर्याल, भानुभक्त ढकाल, हिक्मत कार्की राजन भट्टराई र खगराज अधिकारीलगायत बहुमत पदाधिकारी सहभागी भए। 

एमालेकी तत्कालीन उपाध्यक्ष विद्या पहिलोपटक २०७२ कात्तिक ११ मा राष्ट्रपति बनेकी थिइन्। त्यसपछि लगातार दोस्रो कार्यकालका लागि उनी फेरि २०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

२०७९ फागुन २८ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै पुरानो पार्टी एमालेमा आफ्नो सदस्यता नवीकरण गराएकी थिइन्।

तर पार्टीको नेतृत्व खोसिने जोखिम बढेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले साउन ६ गते भण्डारीको पार्टी सदस्यता रोक्ने निर्णय गरेका थिए। जसले गर्दा उनी २०८२ मंसिर २७ देखि पुस ३ सम्म भएको ११औँ महाधिवेशनमा सहभागी हुन पाइनन्। 

यसपछि उनकै समर्थनमा एमालेका तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल बनाएर ओलीलाई अध्यक्ष पदमा टक्कर दिएका थिए। यद्यपि उनी पराजित भए। 

त्यसयता भण्डारी र ओली तथा उनको खेमाबिच सम्बन्ध बिग्रिएको थियो। एक प्रकारले ओली समूहले भण्डारीलाई पार्टीमा ढिम्किनै दिएको थिएन। 

यद्यपि जेनजी आन्दोलन र त्यसपछि भएको प्रतिनिधिसभा निर्वाचनमा ओलीको शर्मनाक हारपश्चात् एमालेमा ओलीले नेतृत्व छाड्नुपर्ने भन्दै दबाब बढाइएको छ। जसमा ओलीनिकट भनिएका उपाध्यक्ष विष्णु पौडेल तथा महासचिव शंकर पोखरेल नै लागिपरेका छन्।

यसैबिच गत हप्ता मात्र भण्डारी र ओलीबिच भक्तपुर गुन्डुमा भेटवार्ता भएको थियो।

त्यसपछि आज एमालेले भण्डारीलाई आफ्नो कार्यक्रममा प्रमुख अतिथि बनाएको हो। सो कार्यक्रममा अध्यक्ष ओली भने देखिएनन्।

सम्भवत: उनी स्वास्थ्यका कारण बाहिर ननिस्केका होलान्।

३३औँ मदन-आश्रित स्मृति दिवसका थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad