तेस्रो कार्यकालका लागि एमाले अध्यक्ष बनेका केपी शर्मा ओली यतिबेला संकटमा छन्। पार्टीका बहुमत पदाधिकारी उनको विकल्प खोजिरहेका छन्। ११ औँ महाधिवेशनबाट पुनः अध्यक्ष चुनिएको पाँच महिनामै उनलाई पद छोड्न दबाब दिँदै उपाध्यक्ष विष्णु पौडेल र शंकर पोखरेलले मोर्चाबन्दी कसेका छन्।
त्यसैले पत्थरीको अप्रेसन गरेर गुण्डु निवासमा आराम गरिरहेका उनी पद जोगाउने तनावमा देखिन्छन्। शक्ति संघर्षका बीच जेठ २ गते शनिबारका लागि बोलाइएको सचिवालयको बैठक दुई दिन पर सार्दै जेठ ४ गते सोमबारका लागि तय गरिएको छ।
सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन मुख्य एजेन्डा रहने सचिव पद्मा अर्यालले बताएकी छिन्।
तर, यसपटक बैठक त्यतिमा मात्र सीमित हुने छैन। ओलीले पार्टीभित्र आफूमाथि आइलागेको संकट समाधान गर्न र पौडेल–पोखरेलको मोर्चाबन्दीलाई असफल तुल्याउन नयाँ र रणनीतिक प्रस्ताव अघि सार्ने तयारी गरेका छन, जसको केन्द्रमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छिन्।
गत साउन ६ गते अध्यक्ष ओलीले भण्डारीको नवीकरण भइसकेको एमाले सदस्यता रोक्ने निर्णय गराएका थिए। त्यसबेला भण्डारीलाई एमालेको राजनीतिमा सक्रिय हुनबाट रोक्न ओलीले सो कदम चालेका भए पनि अहिले परिस्थिति बदलिएको ओलीनिकट नेता प्रदीप ज्ञवाली बताउँछन्।
‘राष्ट्र, लोकतन्त्र र आन्दोलनकै सामु नयाँ चुनौती देखा परेको छ, यसले हिजोका कतिपय सम्बन्धहरूलाई पुन व्यवस्थित गर्दै अलिकति फराकिलो सोचका साथ जानुपर्ने आवश्यकता सिर्जना गरेको छ,’ ज्ञवालीले नेपालखबरसँग भने, ‘भदौ २३–२४ अगाडि र अहिलेको परिस्थिति, फागुन २१ अगाडि र पछाडिको स्थितिमा तीव्र परिवर्तन आएको छ। पार्टीमा नयाँ सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकता पनि छ।’
ओलीको दाउपेच
पार्टीका प्रभावशाली नेताहरू र बहुमत पदाधिकारी आफ्नै विरुद्धमा लागेपछि ओलीले भण्डारीको साथ लिन खोजेको एक नेताले बताए। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको चुनावी परिणामपछि ओलीलाई राजीनामा दिन दबाब छ।
पार्टीभित्रैबाट संकटमा परेपछि ओलीले भण्डारीको साथ खोजेको उनीहरूको बुझाइ छ।
‘ओलीको आफ्नै दाउ छ। अहिलेसम्म विष्णु र शंकरको ओलीसँग कुरा मिलिसकेको छैन,’ एमालेका एक नेताले भने, ‘सके आफैँ पार्टी सत्तामा रहने, नसके विद्यालाई अगाडि सार्ने दाउपेच हुनसक्छ।’
वैशाख २८ गते ओली र भण्डारीबीच गुण्डुमा तीन घण्टा लामो भेटवार्ता भएको थियो। ओलीसँगको लामो कुरापछि भण्डारी पनि सकारात्मक सुनिएको ती नेता बताउँछन्।
‘भण्डारीलाई आश देखाइदिएछन्,’ उनले भने, ‘भण्डारीले ओली सप्रन त सप्रिएका छैनन्, तर अलिअलि नरमजस्तो लाग्यो भन्नुहुन्थ्यो।’
ओलीनिकट नेताहरू भण्डारीलाई एमालेमा सक्रिय बनाउनसक्ने सम्भावना नकार्न नसकिने बताउँछन्।
‘विद्यालाई पार्टी जिम्मा लाउँछु भन्ने हिसाबले अध्यक्षले सोच्नुभएको हुन सक्छ,’ एक पदाधिकारीले भने, ‘त्यसको सुरुवात जेठ ३ गतेको मदन–आश्रित स्मृति सभामा देखियो।’
जेठ ३ गते, आइतबार भण्डारीलाई प्रमुख अतिथि बनाएर एमालेले मदन–आश्रितको ३३ औँ स्मृति दिवस कार्यक्रम गरेको थियो। अध्यक्ष ओली, उपाध्यक्ष पौडेल र महासचिव पोखरेल तीन जनाको छलफलले भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय गरेर पत्राचार गरेको एक नेताले जानकारी दिए।
‘उहाँलाई विस्तारै स्थान दिन खोजेको हो कि जस्तो देखिन्छ। गत हप्ता ३ घण्टा एक्लाएक्लै भएको भेटपछि विकासित कुरा हो,’ ती नेताले भने।
पार्टीभित्रको संकट समाधानका लागि ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग एकता तयारी गरेका थिए। तर, भण्डारीसँग नयाँ समझदारी जुटेमा ओलीको प्राथमिकतामा प्रचण्ड हुनेछैनन्।
‘तत्काललाई प्रचण्डसँगको एकता रोकेर भण्डारीलाई पार्टीभित्र ल्याउन खोजेको हुनसक्छ। तर, अब बस्ने सचिवालय बैठकले सदस्यता खुलायो भने मात्र,’ भण्डारी खेमाका अर्का नेता भन्छन्, ‘आफूभन्दा पछि भण्डारी हो भन्ने संकेत दिएको हो कि जस्तो लाग्यो।’
तर, भण्डारी खेमाका नेताहरू यसलाई ओलीको बाध्यता र रणनीतिक चालका रूपमा लिन्छन्। भण्डारीनिकट नेता विनोद ढकालले केही न केही विकास भएको हुनसक्ने बताए।
‘अब ओलीलाई त्यति सजिलो छैन। त्यो हुँदा विद्या भण्डारीको साथ खोजेको हुनसक्छ,’ उनले भने, ‘विष्णु र शंकरलाई भन्दा विद्याजीलाई पार्टी जिम्मा लगाउन सजिलो हुने लागेको पनि हुनसक्छ। अब बस्ने सचिवालय बैठकपछि यसबारे प्रष्ट होला।’
नेता सुरेन्द्र पाण्डेले पनि अब बस्ने सचिवालय बैठकले धेरै कुराको निर्क्यौल गर्ने बताए।
‘एमालेमा विद्याजीको सदस्यता नवीकरण मात्र गरिदिए पनि राम्रो हुन्थ्यो, त्यो नगरेसम्म के भन्ने र। भोलि हेरौँ न बैठक छ,’ उनी भन्छन्।
नेता प्रदीप ज्ञवालीले फराकिलो ढंगले जानुपर्ने आवश्यकताको बोध भएको बताए।
‘सम्बन्धलाई सहज बनाउने प्रयास भएको छ, त्यस्तो ठोस रूपमा हिजो गरिएका निर्णयहरू पुनरावलोकन हुन्छन कि हुन्नन्, नयाँ ढंगले जिम्मेवारी दिने कुरा हुन्छन् कि हुन्नन् भन्नेबारे संस्थागत छलफल भइसकेको जस्तो मलाई लाग्दैन,’ उनले भने।
भण्डारीको पुनरागमन र सदस्यता खुलाउने विषय अब पार्टीको मुख्य मुद्दा बनिसकेको नेताहरूको अभिव्यक्तिले स्पष्ट पार्छ। पार्टी सचिव भानुभक्त ढकालले पनि भित्री गृहकार्य भइरहेको संकेत गरे।
‘भण्डारीलाई सदस्यता दिने विषयको चर्चा भएको सुनेको छु,’ उनले भने, ‘के–के हुन्छ भोलि बैठकमा थाहा हुन्छ होला।’
Shares

प्रतिक्रिया