नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।
अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा सोमबार दिउँसो १ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए।
एमालेको ११ औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकोले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्।
एकजना पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरूलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने निर्णय बैठकबाट हुने छ।
हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिने उनले बताए।
यसैगरी एमालेको आजको बैठकले केन्द्रीय विभाग तथा निकायहरूमा जिम्मेवारी बाँडफाँड गर्ने सम्भावना छ।
आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समिक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने सम्भावना छ।
बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरुको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरूले जनाएका छन्।
निर्वाचनमा भएको पराजयपछि एमालेमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषय पनि उठ्न थालेको छ।
आजको बैठकमा नेतृत्त्व हस्तान्तरण, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा दिने जिम्मेवारी जस्ता विषयमा पनि छलफल हुने सम्भावना छ।
Shares

प्रतिक्रिया