राजनीति


एमालेमा ११ वर्षपछि खुल्यो विद्याको बाटो

एमालेमा ११ वर्षपछि खुल्यो विद्याको बाटो

सागर न्यौपाने
जेठ ४, २०८३ सोमबार १९:२७, काठमाडौँ

भनिन्छ- १२ वर्षमा खोलो पनि फर्कन्छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भने ११ वर्षपछि नेकपा एमालेको राजनीतिमा फर्किएकी छन्। राष्ट्रपति पदको कार्यकाल सकिनासाथ सक्रिय राजनीतिमा फर्किएको घोषणा गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता रोकिदिँदा पुरानो घरमा प्रवेश गर्न उनलाई ३ वर्षभन्दा बढी समय लागेको हो। 

अन्तत: २०८३ जेठ ४ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पार्टी सदस्यता दिने निर्णय गरेपछि भण्डारीलाई सक्रिय राजनीति गर्ने ढोका खुलेको हो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको चुनावमा नराम्ररी पराजित भएपछि अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने आवाज एमालेमा चर्काे रूपमा उठिरहेको छ। सचिवालयका बहुमत सदस्य ओली हट्नुपर्ने पक्षमा छन्। 

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले ओलीविरुद्ध मोर्चाबन्दी नै कसेका बेला ११ महिनादेखि रोकिराखेको भण्डारीको सदस्यता दिने निर्णय एमाले सचिवालय बैठकले गरेको हो।

‘पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गर्ने निर्णय भएको छ,’ एमाले सचिव पद्मा अर्यालले भनिन्।

भण्डारीले सदस्यता नवीकरणका लागि निवेदन दिएको जानकारी अध्यक्ष ओलीले बैठकमा दिएको उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बताए।

‘निवेदन आए सदस्यता नवीकरण गर्ने भनिएकै थियो’, गुरुङले भने, ‘निवेदन आयो दिने हो अब।’

११ वर्षपछि ‘कमब्याक’  

सोमबार बसेको एमाले सचिवालय बैठकमा अन्य एजेन्डा भए पनि भण्डारीकै विषयमा मात्र निर्णय गरिएको छ। जसलाई एमाले वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

बैठकमा महासचिव शंकर पोखरेलले ११ वटा एजेन्डा प्रस्तुत गरेका थिए। जसमा पदाधिकारीको वरीयताक्रम निर्धारण, सरकारका कामकारबाहीको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार र पदाधिकारी एवं सदस्यको कार्यविभाजन थिए।

बैठकमा एमालेले वर्तमान सरकार स्वेच्छाचारी ढंगले अगाडि बढिरहेको निष्कर्ष निकाल्दै यसबारे पनि छलफल गरेको छ। 

यस्तै संविधान संशोधन सुझाव कार्यदल गठन, निर्वाचन समीक्षा प्रतिवेदन तयारी कार्यदल गठन, पार्टी केन्द्रिय कार्यालय भवन निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन र संगठन विभागको विस्तारजस्ता प्राविधिक तथा सांगठनिक विषयमा पनि बैठकमा छलफल भएको नेताहरूले बताएका छन्। 

एमालेकी तत्कालीन उपाध्यक्ष विद्या भण्डारी २०७२ कात्तिक ११ मा पहिलोपटक राष्ट्रपति बनेकी थिइन्। त्यसपछि उनले संवैधानिक व्यवस्थाबमोजिम एमालेको सदस्यता त्यागेकी थिइन्। 

पहिलो कार्यकाल सकिए पनि उनी लगातार दोस्रो कार्यकालका लागि फेरि २०७४ फागुन २९ मा राष्ट्रपति पदमा निर्वाचित भइन्।

२०७९ फागुन २८ गते राष्ट्रपति पदको कार्यकाल सकिएपछि उनले सक्रिय राजनीति गर्ने भन्दै एमालेमा सदस्यता नवीकरण गरेको बताएकी थिइन्।

राजनीतिमा पुनरागमनका लागि उनले २०८२ वैशाखमै एमालेमा पार्टी सदस्यता नवीकरणका लागि निवेदन दिएकी थिइन्। जसको खुलासा भण्डारीले २०८२ असार १४ गते मदन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा गरेकी थिइन्। 

राष्ट्रपति पदको कार्यकाल सकिएको डेढ वर्ष एमालेका नेता-कार्यकर्ता भेटेर ‘मुड’ बुझेपछि उनी पार्टीमा सक्रिय हुने निचोडमा पुगिन्। त्यतिबेला नेपालखबरलाई दिएको अन्तर्वार्तामा उनले अब एमालेको अध्यक्ष नै बन्ने घोषणा गरेकी थिइन्। 

तर यसप्रति अध्यक्ष ओली सकारात्मक भएनन्। तेस्रो कार्यकालको शक्तिशाली अध्यक्ष बन्ने आफ्नो चाहनामा बाधक बनेपछि ओलीले नवीकरण भइसकेको भण्डारीको सदस्यता २०८२ साउन ६ गते रोक्ने निर्णय गराए।

राष्ट्रप्रमुख भइसकेको व्यक्तिलाई पार्टी सदस्यता दिन नहुने भन्दै ओलीले रोक्ने निर्णय गराएका थिए। जसकारण एमालेका नेताहरू ओलीप्रति रुष्ट बन्दै गएका थिए। 

आफ्ना लागि पार्टी केन्द्रीय कार्यालय च्यासलको ढोका बन्द भएपछि भण्डारीले भदौ ५ गते थापागाउँमा बेग्लै कार्यालय खोलेकी थिइन्। मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय नाम दिएर थापागाउँमा खोलिएको सम्पर्क कार्यालयबाटै भण्डारीले राजनीतिक गतिविधि गर्दै आएकी थिइन्। 

गत मंसिर २७ देखि पुस ३ गतेसम्म भएको एमालेको ११औँ महाधिवेशनमा भण्डारीले ईश्वर पोखरेल नेतृत्वमा छुट्टै प्यानलै उठाइन्। यद्यपि उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई मात्र निर्वाचित हुन सफल भए। 

यद्यपि जेनजी आन्दोलन र प्रतिनिधसभा निर्वाचनपछि एमालेका बहुमत पदाधिकारीले राजीनामा मागेपछि अध्यक्ष ओली ११ महिनादेखि रोकेर राखेको भण्डारीको सदस्यता दिन बाध्य भएका हुन्।  

एमालेभित्र उत्साह भर्ने अपेक्षा

सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेसँगै पार्टीमा उत्साह भर्ने एमाले नेताहरूको अपेक्षा छ। एमाले नेता सुरेन्द्र पाण्डे यसलाई सकारात्मक लिनुपर्ने बताउछन्।

‘सदस्यता दिए, त्यो राम्रो कुरा हो। एमालेमा यो राम्रो कुरा हो, नराम्रो होइन,’ पाण्डेले नेपालखबरसँग भने।

आफू पनि सदस्यता दिनुपर्ने ‘लबिइङ’मा रहेको बताउँदै उनले सोमबारको निर्णयले भण्डारीलाई पनि सन्तुष्टि मिलेको धारणा राखे। 

‘विद्याजीलाई एउटा सन्तुष्टि नि भयो। राष्ट्रपतिको सेवा सुविधा पनि छोड्न, सदस्यता पनि नदिने खालको स्थिति थियो। त्यसले उहाँलाई पीडित पनि बनाएको थियो, चिन्तित पनि बनाएको थियो,’ पाण्डेले भने। 

भण्डारीलाई सक्रिय राजनीति गर्ने बाटो खुलेको उनले बताए। ‘अगाडिको यात्रा के कसरी भन्ने त बाँकी नै छ,’ पाण्डेले भने। 

एमाले उपसचिव लेखराज भट्टले भण्डारीलाई सदस्यता दिने निर्णयलाई महत्त्वपूर्ण भनेर व्याख्या गरे।

‘आजको निर्णय महत्त्वपूर्ण छ,’ उनले भने, ‘सदस्यता खुलेपछि नेतृत्वको बाटो पनि खुल्यो। उहाँ कहाँ बस्ने, कता गर्ने भन्ने पार्टीले भोलि निर्णय गर्ला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad