राजनीति


‘संसद्‍मा म’मा प्रकाशचन्द्र परियार : बोल्ने पालो नपाउँदा साथीहरूले नै थर्काउँछन् (भिडिओ)


अनिल यादव
जेठ ४ , काठमाडौँ

काठमाडौँको सडकमा उनी तीन घण्टादेखि भौँतारिरहेका थिए। उनी कुनै बहुमूल्य रत्न खोजिरहेका थिएनन्, खालि उनलाई एउटा सुहाउँदो ढाका टोपी चाहिएको थियो। त्यस्तो टोपी जसले उनको शिरको सान र संसद्को गरिमा दुवैलाई थाम्न सकोस्। 

बल्लतल्ल प्रधानसेनापति निवासछेउको एउटा पसलमा उनले त्यो टोपी भेट्टाए, जुन भोलिपल्ट सिंहदरबारभित्र संसद् भवनमा तय भएको सांसदको शपथ ग्रहण समारोहमा पहिरिने तयारीमा थिए। 

उनका लागि त्यो टोपीको महत्त्व अलग थियो। खासमा खोटाङका भिरालो पाखाहरूदेखि इटहरीको धुलो र काठमाडौँको संघर्ष हुँदै संसद्को सिँढी चढ्न लागेको एउटा सपनाको मुकुट थियो।

१२ चैतमा शपथग्रहणपछिको माहोल उत्सवमय थियो। सबैका हातमा संसद्को डायरी, झोला र एउटा सानो बट्टा थियो, जसमा सुकिलो चम्किलो ‘संसद्को लोगो’ थियो। प्रकाशका लागि त्यो लोगो वर्षौँको सामाजिक न्यायको लडाइँ र पत्रकारिताको यात्राले दिलाएको एउटा गम्भीर जिम्मेवारीको प्रमाण थियो।

उनले त्यो लोगो आफैँले आफ्नो छातीमा टाँस्न चाहेनन्। उनलाई लाग्यो– यो विशेष जिम्मेवारीको सुरुवात कुनै विशेष व्यक्तिको हातबाट होस्। त्यही बेला उनले आफ्नो अगाडि रास्वपाका नेता तथा हाल परराष्ट्रमन्त्री रहेका शिशिर खनाललाई देखे। शिशिर तिनै व्यक्ति थिए, जसले प्रकाशलाई राजनीतिमा आउन हरदम हौसला र प्रेरणा दिइरहेका थिए। प्रकाशले शिशिरलाई रोकेर सुस्तरी भने, ‘यो सांसदको ब्याज म आफैँ लगाउँदिनँ, तपाईंले लगाइदिनुपर्‍यो।’

प्रकाशको यो कुरा सुनेर शिशिर एकैछिन टक्क अडिए र मुस्कुराउँदै भने, ‘ओहो! कस्तो क्रिएटिभ सोच!’ उनले बडो स्नेहका साथ प्रकाशको कोटमा संसद्को त्यो लोगो सुटुक्क टाँसिदिए। शिशिरको हातबाट त्यो लोगो पहिरिएपछि मात्र प्रकाशलाई लाग्यो– अब उनी साच्चै नै ‘आधिकारिक सांसद’ बने। 

उनले त्यो पललाई क्यामेरामा पनि कैद गराएका छन्, जुन फोटो उनको जीवनको सबैभन्दा प्रिय स्मृति बनेर रहेको छ। नेपालखबर ‘संसदमा म’मा आफ्नो अनुभूति सुनाउँदै उनी भन्छन्, ‘आफूलाई राजनीतिमा लाग्न प्रेरित गर्ने व्यक्तिको हातबाट त्यो लोगो पहिरिनु मेरो लागि एउटा दुर्लभ र सुखद अनुभूति थियो।’

पत्रकारिता छोडेर राजनीतिमा होमिएका प्रकाश आज संसदमा अलि फरक भूमिकामा छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सचेतक हुन्। रोचक त के छ भने देशको सर्वोच्च विधायिकीमा रास्वपाका तर्फबाट कुन सांसदले कहिले कति समय र के बोल्ने भन्ने कुराको ‘टाइम सेट’ गर्ने प्रकाशले अहिलेसम्म संसद्को रोस्ट्रममा उभिएर आफ्ना कुरा राख्ने अवसर पाएका छैनन्। अरूलाई बोल्ने पालो मिलाउँदा–मिलाउँदै आफ्नै पालो मिलाउन नपाएका उनको संसदीय अनुभव निकै स्वादिलो र उस्तै चुनौतीपूर्ण छ।

उनलाई कतिपयले ‘सांसदको गोठालो’ पनि भन्छन्। रास्वपाका १८२ जना माननीयहरूको भावना, पार्टीको ह्विप र संसद्को समयबीच तालमेल मिलाउनु कम सकसपूर्ण छैन। कहिलेकाहीँ त यो जिम्मेवारीले उनलाई निकै अप्ठ्यारोमा पनि पार्छ। 

उनले एउटा अविस्मरणीय प्रसंग सुनाउँदै भने, ‘हालै मात्र बोल्ने सूचीमा नाम नपरेपछि एकजना माननीयज्यू निकै रिसाउनुभयो। उहाँले त झण्डै मलाई थर्काउनुभयो र पार्टी सभापतिदेखि प्रधानमन्त्रीसम्म पुग्छु भन्नुभयो। मैले निकै शान्त भएर मिठो शब्दमा भनेँ– माननीयज्यू, तपाईं जहाँ पुगे पनि सभामुखलाई नाम पठाउने त सचेतक प्रकाशचन्द्र परियार नै हो नि!’

प्रकाशका अनुसार त्यसपछि उनी एकछिन मौन भए र सुटुक्क फोन काटे। यो प्रसंगले देखाउँछ कि सचेतकको कुर्सी जति ओजिलो छ, त्यहाँ सहनुपर्ने दबाब उत्ति नै भारी छ।

प्रकाशको यो यात्रासंयोगले जुरेको होइन। यसको जगमा २०६२/६३ को आन्दोलनको एउटा अमेट घाउ छ। राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत उनका आफ्नै भाइ जनकपुरमा राज्यपक्षको गोली लागेर सहीद भए। आफ्नै भाइको रगतले सिँचेको यो गणतन्त्रमा न्यायका लागि उनले वर्षौँ संघर्ष गरे। 

पत्रकारितामा रहँदा उनले हजारौँका अन्तरवार्ता लिए, कयौँ भ्रष्टाचारका पर्दाफास गरे होलान्। तर, अन्त्यमा उनलाई लाग्यो– पत्रकारिता त भलिबलमा रेजरले बल उठाइदिए जस्तै मात्र रहेछ, अन्तिममा समाज बदल्ने ‘सट’ हान्ने त राजनीतिज्ञ नै रहेछ। यही बोधले उनलाई ‘अब्जर्भर’ बाट ‘पात्र’ मा रूपान्तरण गरिदियो।

उनले दार्चुलाको लिपुलेक र लिम्पियाधुरा पुग्दा एउटा यस्तो दृश्य देखे, जसले उनलाई आज पनि ऊर्जा दिइरहन्छ। चुनावअघि झण्डै एक हजार किलोमिटर टाढाको त्यो विकट भूगोलमा एकजना वृद्ध मतदाताले उनको टाउकोमा हात राखेर आशीष दिँदै भनेका थिए, ‘बाबु, जसरी पनि तिमीहरू जितेर आउनुपर्छ, हाम्रो विश्वास नतोड है!’ 

ती वृद्धका थरथराउँदा हात र भरोसापूर्ण आँखाहरूले नै प्रकाशलाई संसद्मा अरूको समय मिलाउँदा आफू नबोले पनि दुखेसो नमान्ने बनाइदिएको छ। 

‘म स्वयं संसदीय मामिलाको पत्रकारिता गरेर आएको मान्छे, मलाई रोस्ट्रममा उभिएर धाराप्रवाह बोल्ने रहर नभएको होइन, तर सचेतकको धर्म नै आफ्नो टोलीलाई अगाडि सार्नु हो,’ उनले भने। 

अहिले उनी संसदमा मौन रहे पनि उनीका केही यस्ता संकल्पहरु छन्, जो कानुन बनेर बोल्ने पर्खाइमा छन्। सहिद परिवारको सदस्य भएको नाताले संक्रमणकालीन न्यायलाई पीडित केन्द्रित हिसाबले टुंगोमा पुर्‍याउनु उनको पहिलो लक्ष्य हो। त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई समयसापेक्ष बनाउने र छुवाछुत कसुर तथा सजाय ऐन २०६८ लाई प्रतिस्थापन गरी अझ शक्तिशाली कानुन निर्माण गर्ने सपना उनले बुनेका छन्। 

६० लाख दलित समुदायको आत्मसम्मान र १३ प्रतिशत चरम गरिबीमा रहेका तिनै समुदायको उत्थानका लागि राज्यले संरचनात्मक विभेदको माफी माग्नुपर्छ भन्ने उनको दृढ अडान छ।

खोटाङको त्यो ठिटो, जसले सानोमा रेडियोमा समाचार सुनेर पत्रकार बन्ने सपना देखेको थियो, आज देशको नीति निर्माण गर्ने थलोमा अरूको आवाजलाई व्यवस्थापन गरिरहेको छ। 

भन्छन्, ‘मेरो कार्यकाल सकिँदा केही यस्ता ऐनहरू बनून्, जसले भोलिको पुस्तालाई न्यायको अनुभूति गराओस्।’

हेर्नुहोस्, ‘संसदमा म’, जहाँ सांसदहरू बोल्छन्, संसद् भवनको रोस्ट्रमबाट होइन, हृदयको गहिराइबाट–नेपालखबरबाट : 

फोटो/भिडिओ : सरोज नेपाल

जेठ ४, २०८३ सोमबार १९:३२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad