राजनीति


दुर्गा प्रसाईँलाई आइतबारपछि थुनामा नराख्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईँलाई आइतबारपछि थुनामा नराख्न सर्वोच्चको आदेश

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १८:५६, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न अब म्याद थप नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पछिल्लोपटक बिहीबार जिल्ला अदालत पर्साले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

उक्त म्यादभित्र अनुसन्धान सकिए पनि नसकिए पनि हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको हो। प्रसाईलाई यसअघि तीन दिन हिरासतमा राखिसकिएको छ।

नागरिक बचाउ अभियानका अध्यक्ष समेत रहेका प्रसाईंलाई कार्यक्रमका लागि पर्सा पुगेका बेला प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।

आफूलाई गैरकानुनीरूपमा हिरासतमा राखेको भन्दै प्रसाईंको तर्फबाट बन्दी प्रत्येक्षीकरण निवेदन दर्ता भएको थियो। त्यसको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले प्रसाईंको रिट खारेज गर्दै सरकारका नाममा यस्तो आदेश जारी गरेको हो।

वीरगञ्जको होटल सिद्धार्थ दियालोमा पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि साइबर अपराध र राज्यविरुद्धको कसुरमा जरुरी पक्राउ पुर्जी दिएर प्रसाईंलाई जेठ ४ गते बेलुका पक्राउ गरेको थियो। जेठ ५ गते पर्सा जिल्ला अदालतले पहिलो पटक ३ दिनको अनुमति दिएको थियो। जेठ ७ गते दोस्रो पटक चार दिनको म्याद थप गरिएको छ।

तर प्रसाईं घाँटीको क्यान्सर रोगबाट पीडित भई उपचाररत रहेको र नियमितरूपमा स्वास्थ्य जाँचका लागि चिकित्सकको परामर्श एवम् अनुगमनमा जानुपर्ने अवस्था समेत रहेको अदालतको आदेशमा उल्लेख छ।

प्रसाईं भागीजाने अवस्थासमेत नदेखिएको भन्दै दोस्रो पटक थपिएको म्यादभित्र अनुसन्धान सम्पन्न भए सोहीअनुसार र नभए बाहिर राखी अनुसन्धान गर्न परमादेश जारी गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad