राजनीति


सांसद राईको कटाक्ष- प्रधानमन्त्री त कलाकार पनि हो, पैसा तिरेर भए पनि संसद्‌मा ल्याऔँ

सांसद राईको कटाक्ष- प्रधानमन्त्री त कलाकार पनि हो, पैसा तिरेर भए पनि संसद्‌मा ल्याऔँ

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १८:३२, काठमाडौँ

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री वालेन्द्र शाह कलाकार पनि भएकाले पैसा तिरेर भए पनि संसद्मा ल्याउनुपर्ने कटाक्ष गरेका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री शाहप्रति कटाक्ष गरेका हुन्। उनले समय माग गरेपछि सभामुख डोलप्रसाद अर्यालले बोल्न अनुमति दिँदै भने, ‘माननीय सदस्यज्यू आफ्नो कुरा राख्नुस्!’

त्यसपछि सांसद राईले आफ्नो कुरा केही नभएको जवाफ दिए। ‘आफ्नो त कुरै छैन, सभामुख महोदय, जनताकै कुरा लिएर आएका हौँ,’ उनले थपे, ‘यहाँ हाम्रो केही छैन, सिस्टममा हामी हिडिरहेका छैनौँ।’

उनले प्रधानमन्त्री शाहप्रति इंगित गरेका थिए। प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने भए पनि नआएकोमा विपक्षी दलले विरोध गरिरहेका छन्। उनीहरू प्रश्नोत्तरका लागि प्रधानमन्त्री शाह संसद् आउनुपर्ने माग गरिरहेका छन्। 

अहिलेको सरकारले प्रणालीमा हिडाउन विपक्षी दलले सहयोग गरिरहेको उनको भनाइ थियो। ‘अहिलेको सरकारलाई कसैले सहयोग गरेको छ भने हामीले पनि होला,’ उनले भने। 

सांसद राईले प्रधानमन्त्री शाह संसद्मा नआएकोमा आक्रोष पोखे। सित्तैमा नआउने भए पैसा तिरेर भए पनि ल्याउनुपर्ने उनको भनाइ थियो। 

‘हामीले हाम्रो प्रधानमन्त्रीको आवाज जनतामा लान पाउन पाऔँ। बरु के चिज रहेछ, जति महंगो भए पनि तिरौँ न!,’ सांसद राईले कटाक्ष गरे, ‘अब वहाँ त कलाकार मान्छे पनि हो। सायद पैसामा हिजोतिर हिड्ने बानी भएर हो कि?’

उनले प्रधानमन्त्री शाहलाई संसद्मा आउनका लागि रुलिङ गर्न सभामुख अर्याललाई आग्रह गरे। ‘यदि होइन भने देश र जनताप्रति उत्तरदायी हुनुपर्छ,’ राईले भने, ‘प्रधानमन्त्री र सरकारलाई रुलिङ हुनुपर्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदलाई पनि प्रधानमन्त्री शाहलाई संसद्मा ल्याउन आग्रह गरे। ‘सत्ता पक्षका माननीयज्यूहरूलाई मेरो अनुरोध छ– कम्तिमा सम्झाई बुझाई ल्याऔँ न प्रधानमन्त्री,’ सांसद राईले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad