मुलुकको आर्थिक समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पुँजीगत बजेटको कम्तीमा १ प्रतिशत रकम विनियोजन गर्नुपर्ने सांसद महावीर पुनले माग गरेका छन्।
बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पुनले देशमा रोजगारी सिर्जना र अर्थतन्त्र सुदृढ गर्न अनुसन्धान र नवप्रवर्तन अपरिहार्य रहेको बताए। ‘मन्त्रालय त खोलियो, तर यसलाई व्यवस्थित गर्न बाँकी छ। आगामी बजेटमा पुँजीगत खर्चको १ प्रतिशत अर्थात् करिब ३ अर्ब रुपैयाँ यस क्षेत्रका लागि छुट्याउनुपर्छ,’ पुनले भने।
सरकारले हालै नवप्रवर्तन तथा विज्ञान प्रविधि मन्त्रालय स्थापना गरेको विषयलाई सकारात्मक रूपमा लिँदै उनले मन्त्रालयलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति र पर्याप्त बजेटको आवश्यकता रहेको औँल्याए। तर, आवश्यक बजेट विनियोजन हुनेमा भने उनले शंका जनाए।
‘हाम्रा अर्थमन्त्रीजी एक कुशल अर्थशास्त्री हुनुहुन्छ, तर देशको अर्थतन्त्र उकास्न विज्ञान र नवप्रवर्तनले कस्तो भूमिका खेल्छ भन्ने विषयमा उहाँको गहिरो ध्यान पुग्न सकेको छैन कि भन्ने मलाई भान भएको छ,’ पुनले भने।
सांसद पुनले वर्तमान अर्थतन्त्रको विकासका लागि नवप्रवर्तनको महत्त्व बुझ्न जरुरी रहेको बताए। वैज्ञानिकहरूले गर्ने आविष्कारलाई व्यवसायिक रूप दिई उत्पादन बढाउनु नै नवप्रवर्तन भएको उनको भनाइ थियो।
नवप्रवर्तनका माध्यमबाट स्वदेशमै वस्तुहरू उत्पादन गर्दा आयात प्रतिस्थापन हुने, रोजगारी बढ्ने र अन्ततः राज्यको कर संकलनमा वृद्धि भई विकास निर्माणका काममा बजेट जुटाउन सहज हुने उनको तर्क छ। नयाँ मन्त्रालयमा मन्त्रीदेखि सचिवसम्म सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्ने र यसको नेतृत्व प्रधानमन्त्री स्वयंले चासोका साथ लिनुपर्ने उनको सुझाव छ।
Shares

प्रतिक्रिया