राजनीति


रमेश लेखकबारे प्रश्नमा कांग्रेसले भन्यो- जो कोही भए पनि कारबाही गर्नुपर्छ

रमेश लेखकबारे प्रश्नमा कांग्रेसले भन्यो- जो कोही भए पनि कारबाही गर्नुपर्छ

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १७:१०, काठमाडौँ

जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, जोसुकैलाई पनि कारबाही गर्नुपर्ने नेपाली कांग्रेसले जनाएको छ। 

बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकमा मानव अधिकार आयोगको प्रतिवेदनमाथि पनि छलफल भएको थियो। आयोगले औँल्याएका जुनसुकै व्यक्तिलाई पनि कानुनसम्मत रुपका कारबाही गर्नुपर्ने कांग्रेसको ठहर छ। 

संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले कानुनसम्मत रुपमा जानुपर्ने विषयमा छलफल भएको बताइन्। कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि कारबाहीको लागि सिफारिस गरिएको छ। 

यस विषयमा सोधिएको प्रश्नमा प्रमुख सचेतक थापाले भनिन्, ‘भदौ २३ मा जति जनालाई भन्नु भएको छ, भदौ २४ मा पनि त्यति जना हुनुहुन्छ। कानुनसम्मत जानुपर्छ, कानुनभन्दा माथि कोही पनि हुँदैन। कानुनसम्मत जो कोही आउँछ भने पनि यसमा नेपाली कांग्रेसले स्वीकार गर्नेछ।’

मानव अधिकार आयोगको प्रतिवेदनलाई अगाडि बढाउनुपर्ने कांग्रेसको धारणा रहेको उनले बताइन्। ‘यसलाई अगाडि बढाउनुपर्छ, यसमा हामीले पूर्ण साथ दिन्छौँ,’ थापाले भनिन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित  १७ जना सांसदमाथि पनि अनुसन्धान गर्न सिफारिस गरिएको छ। यस विषयमा कांग्रेसको धारणबारे सोधिएको प्रश्नमा प्रमुख सचेतक थापाले भनिन्, ‘जति पनि मुछिनु भएको छ, सबैलाई कानुनको दायरामा ल्याउनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad