सार्वजनिक कुटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाल तथा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग भेटवार्ता गर्ने निश्चित भएको छ।
बालेन्द्र शाह सरकार बनेपछि नेपाल भ्रमण गर्ने रोजर्स सबैभन्दा बरिष्ठ कुटनीतिज्ञ हुन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जेओ गोर तथा सहायक विदेशमन्त्री एस पावलल कपुरले नेपाल भ्रमण गरेका थिए।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले नेपालखबरसँग भने, ‘अहिलेसम्म परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीसँगको भेटवार्ता तय भएको छ।’
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार रोजर्सले नेपाल–अमेरिका चेम्बर अफ कमर्सका पदाधिकारीसँग समेत छलफल गर्नेछिन्। उनले पाटन दरबार क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भएको छ। २०७२ को भूकम्पपछि पाटनका पुरातात्विक सम्पदाको पुनःनिर्माण तथा संरक्षणमा अमेरिकाले सहयोग गर्दै आएको छ। बसन्तपुर दरबारभित्रको गद्दी बैठक तथा पाटन दरबार क्षेत्रका सम्पदाको पुनःनिर्माण गर्न अमेरिकाले ‘सांस्कृतिक संरक्षणका लागि अमेरिकी राजदूत कोष (एएफसीपी)' बाट आर्थिक सहयोग गरेको थियो।
रोजर्सले काठमाडौं छोड्नुअघि अमेरिकी कार्यक्रममा सहभागी भएर फर्किएका ‘पूर्वफेलो’हरुसँग पनि भेटवार्ता गर्नेछिन्।
आइतबार उनले दूतावासले आयोजना गर्ने ‘एसेन्ट समिट २०२६’मा उदघाटन मन्तव्य दिँदैछिन्।
काठमाडौंस्थित अमेरिकी कुटनीतिज्ञ तथा दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले केही समयअघि विश्वकै सर्वोच्च शिखिर सगरमाथाको सफल आरोहण गरेका थिए। नेपालमा बहालवाला कुटनीतिज्ञको रुपमा सगरमाथा चढ्ने उनी पहिलो कुटनीतिज्ञ हुन्। आइतबार अपरान्ह उनलाई उपविदेशमन्त्री सारा बी रोजर्सले सम्मानित गर्नेछिन्।
यसअघि नेपाल भ्रमणमा आएका ट्रम्पका विशेष दूत गोर तथा सहायक विदेशमन्त्री कपुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री बालेन्द्र शाहसँग दुवै जनाको भेटवार्ता भएको थिएन।
Shares

प्रतिक्रिया