राजनीति


सीमा विवादबारे संसद्‌मा प्रधानमन्त्री: भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्डसँग पनि कुरा गरेका छौँ

सीमा विवादबारे संसद्‌मा प्रधानमन्त्री: भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्डसँग पनि कुरा गरेका छौँ

नेपालखबर
जेठ १७, २०८३ आइतबार १४:४२, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूका प्रश्नका जवाफ दिने क्रममा नेपाल-भारत सीमा विवादका विषयमा सनसनीपूर्ण दाबी गरेका छन्। 

उनले आजसम्म देशका कुनै पनि प्रधानमन्त्रीले नभनेको कुरा नेपालले पनि भारतको भूभाग मिचेको दाबी गरेका हुन्।

नेकपा एमालेकी सांसद पदमा अर्यालपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले लिपुलेकसहित सीमा क्षेत्रमा बस्ने नेपाली नागरिकले 'देशमा सरकार भएको' अनुभूति कसरी गर्न पाउँछन् भनी प्रश्न गरेका थिए।

जवाफमा प्रधानमन्त्री शाहले भने, लिपुलेक लिम्पियाधुराको बारेमा अघि पनि भनिसकेँ। तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ- भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले  पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। यो कुरा अस्ति भर्खरै थाहा पायौँ। त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नुभएको छ के छ, त्यसलाई बसेर एउटा साथीको रूपमा समाधान गर्ने हामीले सोच राखेका छौँ।’

यसअघि नेकपा एमालेकी सांसद पद्मा अर्यालले लिपुलेक लिम्पियाधुरामा भारत र चीनले नेपाललाई जानकारी नै नदिई व्यापारिक मार्ग बनाएको विषयमा प्रधानमन्त्रीको धारणा के हो र सरकारले त्यस विषयमा के काम गर्दै छ भनेर सोधेकी थिइन्। 

जवाफमा प्रधानमन्त्री शाहले भने, ‘यससम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाफ पनि आएको छ। त्यो जवाफमा दुइटै सरकारले आफ्नो इतिहासविद्‌हरू राखेर, आफ्नो सर्वेयरहरू राखेर आफ्नो भूमिसम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टकमार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। यससम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ। उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रोमा भइहिरहेको हुँदाखेरि यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउँछु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad