राजनीति


‘नेपालले भारतको सीमा मिचेको’ प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेस र नेकपाको माग

‘नेपालले भारतको सीमा मिचेको’ प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेस र नेकपाको माग

नेपालखबर
जेठ १७, २०८३ आइतबार १५:१८, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको जग्गा मिचेको छ भनि दिएको अभिव्यक्ति हटाउन प्रमुख प्रतिपक्षी दल र नेपाली कम्युनिस्ट पार्टीका सांसदले माग गरेका छन्।

कांग्रेसकी प्रमुख सचेतक बासना थापा र नेकपाका सांसद रमेश मल्लले प्रधानमन्त्रीले गम्भीर अभिव्यक्ति दिएको भन्दैत्यसलाई संसदको रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरेका हुन्।

कांग्रेसकी प्रमुख सचेतक थापाले प्रधानमन्त्रीले नेपालले भारतको कहाँको भूमि मिचेको हो थाहा दिन माग गरिन्। 

‘प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचिएको भन्नुभयो, यो कहाँनेर मिचियो? यो छिटो भन्दा छिटो हामीलाई अवगत गराउनुपर्‍यो,’ आइतबार बसेको संसद बैठकमा उनले भनिन्, ‘यो गम्भीर आपत्तिजन विषय हो। प्रधानमन्त्रीले तथ्यविना दुईदेशको सीमाबारे बोलेको कुरा सत्य हो भने राखिनुपर्‍यो। यदि यो असत्य र सही होइन भने संसदको रेकर्डबाट हटाइयोस्।’ 

यसैगरी नेकपाका सांसद रमेश मल्लले राष्ट्रिय अखण्डताको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गम्भीर खालको भएकोले यसलाई संसदको रेकर्डमा राख्न नहुने बताए। 

‘प्रश्नोत्तरका क्रममा यो मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका मूलभूत सिद्धान्तहरू हाम्रो संविधानले पनि अपरिवर्तनीय भन्छ। मुलुकको राष्ट्रिय अखण्डताको विषयमा आँच आउने खालको अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीले जसरी एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार सदनको रोष्ट्रमबाट व्यक्त गर्नुभएको छ, यो सामान्य विषय छैन,’ मल्लले भने, ‘उहाँले अनौपचारिक विषय राखेको जस्तो सम्झनुभएको हो कि भन्ने मलाई लागेको छ। यो कुरा धेरै नै गम्भीर छ। मुलुकका अरु कुनै सरकार प्रमुख, राष्ट्रप्रमुखहरूले मञ्चमा बसेर हामीले फलानो देशको भूमि मिचेका छौँ भन्छन् होला? यो कति गम्भीर विषय छ? सम्माननीय प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई हामीले संसदको तर्फबाट करेक्सन गर्नैपर्दछ। यो गम्भीर अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाइनुपर्दछ।’

प्रधानमन्त्री शाहले आज एक्कासी सांसदहरूको प्रश्नको जवाफ दिने भन्दै सभामुखसँग समय मागेका थिए।

त्यसपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालको भूमिको विषयमा राखेको प्रश्नको जवाफ दिने क्रममा प्रधामनन्त्रीले भारतले मात्र होइन, नेपालले पनि भारतको जमिन मिचेको रहेछ भनेर थाहा पाएको बताएका थिए। उनले सोधेका थिए, 'कालापानी, लिपुलेक, लिम्पियाधुराको समस्या निकै लामो समयदेखि चल्दै आएको छ र सीमामा थुप्रै समस्याहरू छन्।  सीमामा सरकार छ भने सीमा नागरिकले कहिले अनुभूति गर्न सक्छन्?'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad