उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव डा. कृष्णहरि पुष्करले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई आफूलाई सके मुख्यसचिव नभए राजदूत बनाइदिन म्यासेज पठाएको खुलेको छ। उनले पठाएको म्यासेजमा उनले लेखेका छन्, ‘....मुख्यसचिव पदमा हजुरको ध्यान भए मात्रै नत्र कुनै सम्भावना छैन हजुर। त्यही भएर मेरो सेवानिवृत्ति आगामी असार २४ गते सुनिश्चित छ।’
त्यसपछि उनले राजदूत पदका लागि विज्ञापन देखेको र आवेदन पेस गरेको प्रधानमन्त्री बालेनलाई जानकारी गराएका छन्। उनले लेखेका छन्, ‘यस सम्बन्धमा हजुरको जानकारी, मार्गदर्शन तथा आवश्यक सहयोगका लागि विनम्र अनुरोध गर्दछु।’ सो म्यासेजका कारण सचिव पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा प्रहरी कार्यालय पुर्याइएको थियो।
सो विषयमा पुष्करले नेपालखबरसँग भने, ‘पक्राउ पर्यो भनेर हल्ला फिँजाउने काम गरिएछ, त्यस्तो केही होइन। म अवकाशमा जान लागेको मान्छे, सरकारले मलाई मिल्ने पदहरूमा पनि विज्ञापन गरेको र त्यसमा मैले पनि आवेदन दिएको कुरा प्रधानमन्त्रीलाई जाहेर गराएको हो।’
उनले आफूले लेखेको म्यासेजले प्रधानमन्त्री ‘कन्फ्युज’ भएको जस्तो लागेको बताए। ‘उहाँ चिनजानकै मान्छे हो। अरू बेला कुराकानी भइरहन्थ्यो। हामी राष्ट्रसेवकले लेख्ने शैलीमै लेखेको हो। खोई उहाँ कन्फ्युजमा पर्नुभयो होला,’ उनले भने।
विगतमा सरकारका उच्चपदस्थहरूले राजनीतिक दलका शीर्ष नेतासँग पहुँच बनाएर अवकासपछि संवैधानिक निकाय, राजदूतजस्ता ठाउँमा नियुक्ति पाउने गरेका थिए। बालेन सरकारले त्यस्ता सबै नियुक्तिहरू खारेज गरिसकेको छ। पदपूर्तिका लागि नयाँ प्रक्रिया अघि बढाएको छ।
Shares

प्रतिक्रिया