नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अभिव्यक्तिले भारतले होइन नेपालले भारतको भूमि मिचेको स्थापित गर्न खोजेको बताएका छन्। बुधबार सदनमा बोल्दै उनले सो अभिव्यक्तिको पैरवी सेनाले पनि गरिररहेको आरोप लगाएका हुन्।
‘यो वक्तव्यको सेनाहरूले पनि पैरवी गरिरहेका छन्। सत्ता पक्षका सांसदहरूले पनि यो वक्तव्यलाई स्थापित गर्न यसको समर्थनमा तथ्य खोज्दै मेचीदेखि महाकालीसम्म हिँडिराख्नुभएको छ,’ उनले भने।
यस्तै थापाले रास्वपा सांसद अमरेशकुमार सिंहले एक अन्तर्वातामा ‘नेपाल कतै पाकिस्तानी मोडलतिर त उन्मुख छैन’ भन्ने अभिव्यक्तिको पनि स्मरण गरे। ‘नेपालका शासकहरूको कार्यशैली त्यो दिशातर्फ त उन्मुख छैन भन्ने गम्भीर आशंका रास्वपाका सांसदहरूले उठाउनुभएको छ,’ उनले भने, ‘प्रधानमन्त्री रोस्टममा आएर जबसम्म गल्तीहरूलाई सच्याउनुहुन्न तबसम्म यो संकटको समाधान हुन सक्दैन।’
यस्तै उनले परराष्ट्रमन्त्री शिखिर खनालले सदनमा दिएको प्रस्टीकरणमा आफूहरू सहमत हुन नसकेको बताए। ‘परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको पक्षबाट उहाँको घोषणालाई रक्षा गर्ने, त्यो भनाइ सही थियो भनेर जानु भयो,’ उनले भने, ‘त्यो स्पष्टीकरणसँग सहमत छैनौँ। त्यो (स्पष्टीकरण) परराष्ट्रमन्त्रीले होइन, प्रधानमन्त्रीले नै दिनुपर्छ।’
सभामुखले प्रधानमन्त्रीलाई र रास्वपा सभापतिले सदस्यका हैसियतमा रुलिङ नगर्दासम्म संकट समाधान नहुने उनले बताए।
Shares

प्रतिक्रिया